कांग्रेस-एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल - MirrorNepal.com

कांग्रेस-एमालेका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल


काठमाडौँ । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा भएको छलफल सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका थिए ।

सहभागीहरूका अनुसार बैठकमा संसद्‌मा विचाराधिन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्याधिवक्ता रमेश बडालसँग छलफल भएको छ। मन्त्रीपरिषद् हेरफेरबारे छलफल हुने भनिए पनि बैठकमा यसबारे भने कुनै कुरा नभएको बैठक स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री निवासमा केही समय अघि सुरु भएको छलफलमा पछिल्लो राजनीतिक अवस्था, मन्त्री हेरफेरको सम्भावना, बागमती प्रदेश सरकारमा देखिएको असमझदारी लगायतका मुद्दामा कुराकानी भइरहेको जनाइएको थियो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी भएका थिए।

सरकार गठनको एक वर्ष पूरा भइसकेपछि यसबारे समीक्षा गर्दै मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री लागे पनि कांग्रेस भने आफ्नो पार्टीका मन्त्री हेरफेर गर्न अनिच्छुक देखिएको छ।

तपाईको बिचार