काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ। ९२ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिए।
बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिएका हुन्। बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा एमालेले ह्विप जारी गरेको थियो।
सत्ता गठबन्धनकाे एक मत भने अनुपस्थित हुँदा उनको पक्षमा प्राप्त हुन सकेन । कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३६ र एमालेका २७ सांसदले मत दिएका छन् । कांग्रेसका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार देश बाहिर रहेकाले उनी संसद बैठकमा उस्थित भएनन् ।
कांग्रेसमा भएको किचलोका कारण विश्वासको मत लिन ढिला भएको थियो । प्रदेशसभामा एमालेका २७ र कांग्रेसका ३७ गरी ६४ सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका थिए। प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका २१, राप्रपाका १३ (सभामुख सहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
बानियाँलाई कांग्रेसका १४ सांसदकाे अनुपस्थितमा बहुमत पुर्याउन थप ५ सांसद आवश्यक थियो ।
तपाईको बिचार