विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ - MirrorNepal.com

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको नौबहिनी गाउँपालिका–१ का ३४ वर्षीय विशाल बुढामगर, झापाको बुद्धशान्ति गाउँपालिका–२ का ३० वर्षीय निकेश ढुंगाना र महोत्तरीको गौशाला नगरपालिका–९ का ४४ वर्षीय योगेन्द्रसिंह दनुवार छन् ।

विशालले क्यानडा पठाइदिने भन्दै दुईजनाबाट १५ लाख ३० हजार रुपैयाँ बुझेका थिए । निकेशले यूके पठाइदिने भन्दै एकजनाबाट ४१ लाख रुपैयाँ लिएका थिए । योगेन्द्रले अल्बानिया पठाइदिने भन्दै एकजनाबाट नौ लाख ३४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका आरोप छ ।

उनीहरू काठमाडौं र ललितपुरका फरक स्थानमा बस्दै आएका थिए । विशाललाई बिहीबार (भदौ १८) काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ बाट पक्राउ गरिएको थियो ।

निकेशलाई शुक्रबार ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको हो । योगेन्द्रलाई पनि शुक्रबारै काठमाडौं महानगरपालिका १२ बाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको बिचार