गोरखा दरबारको दसैँघरमा जमरा राखियो - MirrorNepal.com

गोरखा दरबारको दसैँघरमा जमरा राखियो


  • Mirror Nepal ५ असोज २०८२, सोमबार १३:१९:५८

काठमाडौं । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । वडादसैँ अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

परम्परा अनुसार आज बिहान कैलास कोठाबाट देवी भगवतीलाई मूलदरबारको गर्भगृह (पूजा कोठा) मा राखेपछि लगत्तै पानी घडा थापेर त्यसैको शुभसाइतमा जमरा राखिएको उहाँले बताउनुभयो ।

‘‘कैलास कोठामा देवीलाई राखेपछि बिहानको शुभसाइतमा विधिपूर्वक घटस्थापना अर्थात जमरा राखिएको हो, उहाँले भन्नुभयो, ‘‘जमरा राख्ने तयारीका लागि त्यसअघि नै कालिका मन्दिरको पटाङगिनीमा देवीको पूजामा प्रयोग हुने भाँडावर्तन माझ्ने तथा शैलपुत्रीको पूजाका लागि आवश्यक सामाग्री तयार पार्ने काम गरिन्छ ।’’

गोरखा दरबारको दसैँघर र कालिका मन्दिरमा एक–एक पाथीका दरले जौँको जमरा राखिएको उहाँले बताउनुभयो । त्यस्तै गोरखनाथ मन्दिरमा चार माना तथा उपल्लो कोट र तल्लो कोटमा एक–एक मानाका दरले जमरा राखिएको मूलपूजारी भट्टराईले बताउनुभयो ।

घटस्थापनाका दिन गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीले घर–घरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै आजदेखि कालिका मन्दिरमा नियमित रुपमा बलि दिने प्रचलनसमेत रहेको छ ।

त्यस्तै गोरखाको अर्को प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज बिहानको शुभसाइतमा जमरा राखिएको मन्दिरका मूलपूजारी इन्सान थापाले जानकारी दिनुभयो । घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

तपाईको बिचार

सम्बन्धित खबर

रामेछापमा गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
रामेछापमा गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
Mirror Nepal
१७ फागुन २०८२, सोमबार १८:०३:०२

काठमाडाैँ । रामेछाप नगरपालिका–२ स्थित देउरालीमा भएको दुर्घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ। वडाध्यक्ष नीरबहादुर श्रेष्ठका अनुसार एक जन असईको मृत्यु भएको हो। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी सोमबार दिउँसो दुर्घटना भएको थियो। गाडी ५ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्। गाडीबाट हाम फालेका तीन जना सकुशल छन्। घाइतेहरूको उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ। गाडीमा १०/११ जना निर्वाचन कर्मचारी र प्रहरी रहेका थिए । अहिले उद्धारका काम जारी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । मन्थलीबाट मतदान केन्द्र कालिकादेवी मावि र देउराली माविको निर्वाचन सामाग्री लिई कर्मचारीसहित जाँदै गरेको गाडी दुर्घटना भएको हाे ।गाडी करिब २०० मिटर तल खसेकाे जनाइएकाे छ ।