काठमाडौं । दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै ६ लाख ११ हजार बढीले काठमाडौँ छाडेका छन्। आज काठमाडौंका सडक प्रायः सुनसान छन्। दशैंको आगमनसँगै काठमाडौंबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो। हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।
दसैँ सुरु भएसँगै काठमाडौं उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
उनले भने, ‘अहिले राजधानी छाडेर जानेको सङ्ख्या बढेको छ, काठमाडौँ भित्रिने र बाहिरिने नाकामा सामन्य तरिकाले सवारी साधन चलिरहेका छन्।’
घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएका सवारी साधनको सङ्ख्या एक लाख १३ हजार ४१५ पुगेको छ। यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन्।
काठमाडौं उपत्यकामा ७७ हजार ५४५ सवारी साधनबाट तीन लाख १९ हजार १५ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा यात्रुको भीड देखिएको छ।
गाउँघरमा भने दशैंको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेको छ। घरआँगनमा टिका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्बिर सामाजिक सञ्जालमा प्रशस्तमात्रामा देखिन थालेका छन्।
परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुनःभेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन्। दशैंको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्रायः गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन्।
तपाईको बिचार