काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशमा मृत्यु भएका १४२ नेपाली कामदारको शव नेपाल ल्याइएको छ । यसमा साउन महिनामा ४३ जना र भदौ महिनामा ९९ जना नेपाली कामदारको शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
बोर्डका अनुसार बोर्डको खर्चमा ८३ जनाको शव विदेशबाटै नेपालसम्म ल्याइएको थियो भने बाकी शवहरू सम्बन्धित कम्पनी तथा अन्य निकायको आर्थिक सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्याएको थियो।
गत आर्थिक वर्ष २०८१/०८२ मा एक हजार ८६ जनाको शव ढुवानी गरिएको थियो भने ४८१ जनाको शव विदेशबाट झिकाइएको थियो । दुई महिनामा २६८ जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको थियो। जसमा साउनमा १४२ र भदौमा १२६ जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको बोर्डले जनाएको छ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको परिवारलाई बोर्डले १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्दै आएको छ । त्यस्तै, अङ्गभङ्ग तथा बिरामी भएका श्रमिकको हकमा ७ लाखसम्मको उपचार खर्च प्रदान गर्दै आएको छ। बिरामी भएको व्यक्ति नेपालमा उपचार गरेको हुनुपर्ने सर्त तोकिएको छ।
त्यस्तै, श्रमिकका परिवारलाई ५० हजार रुपैयाँ स्वास्थ्य उपचार सहयोगबापत प्रदान गर्दै आएको छ भने मृतक तथा पूर्ण अशक्त भएका कामदारको सन्तानलाई आधारभूत तहसम्मको लागि १२ हजार र माध्यमिक तहसम्मको अध्ययनका लागि १६ हजार रुपैयाँ छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ ।
तपाईको बिचार