कांग्रेसमा नेतृत्व परिवर्तनको लागि हस्ताक्षर बुझाउने तयारी - MirrorNepal.com

कांग्रेसमा नेतृत्व परिवर्तनको लागि हस्ताक्षर बुझाउने तयारी


काठमाडौँ । जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग गर्दै थालिएको हस्ताक्षर संकलन कार्य अन्तिम चरणमा पुगेको संस्थापन इतर पक्षले जनाएको छ ।

विशेष महाधिवेशनका लागि संकलन गरिएको आवश्यक हस्ताक्षर कांग्रेस सभापति शेरबहादुर देउवाले असोज २६ गते बोलाएको केन्द्रीय समितिको बैठक अघि नै पेस गर्ने इतर पक्षको तयारी छ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइरालालगायत संस्थापन इतर पक्षले ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन सकिएको बताएका छन् ।

हस्ताक्षर संकलनको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरेका अनुसार हाल प्रतिनिधिहरूसँग व्यक्तिगत सम्पर्क, डिजिटल प्रमाणीकरण र दस्ताबेज व्यवस्थापनको काम भइरहेको छ ।

नेताहरूको दाबी अनुसार यस पटकको अभियानमा सभापति देउवा पक्षका केही प्रतिनिधिहरूले समेत हस्ताक्षर गरेका छन् । कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेपछि तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।

१४औँ महाधिवेशनमा निर्वाचित चार हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४० प्रतिशत अर्थात् कम्तीमा एक हजार ८९८ जनाको हस्ताक्षर आवश्यक पर्छ । केन्द्रीय समितिमा देउवाको स्पष्ट बहुमत भएकाले त्यो सम्भावना नरहेकाले इतर पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेका हुन् ।

साथै, संस्थापन इतरका एक नेताका अनुसार पछिल्लो अवस्था, आसन्न केन्द्रीय समिति बैठक, विशेष महाधिवेशनको हस्ताक्षर तयारीबारे छलफल गर्न नेता डा. शेखर र महामन्त्री थापाबीच सोमबार भेट हुने तय भएको छ ।

तपाईको बिचार