कांग्रेस, एमाले र जसपाले गरे राष्ट्रिय सभामा भागबण्डा - MirrorNepal.com

कांग्रेस, एमाले र जसपाले गरे राष्ट्रिय सभामा भागबण्डा


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचनमा एकल उम्मेदवारी दिने भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) सँग तालमेल नमिलेपछि नेकपा गठबन्धनबाट बाहिरिएको हो ।

नेकपा बाहिरिएसँगै कांगेस, एमाले र जसपाले राष्ट्रिय सभाका १८ सिटमा भागबण्डा गरेका छन्। राष्ट्रियसभाको निर्वाचन हुन लागेका १८ मध्ये कांग्रेसलाई ९, एमालेलाई ८ र जसपालाई १ सिटमा भागबण्डा गरेका हुन्।

कांग्रेस एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपासँग पनि सहमतिको प्रयास गरेका थिए । तर, नेकपाले चार सिटको दाबी गरेपछि सहमति हुन नसकेको हो । कांग्रेस र एमाले नेकपालाई तीन सिटभन्दा बढी दिन तयार नभएपछि नेकपा यो गठबन्धनबाट बाहिरिएको छ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेस, एमाले र जसपाले उम्मेद्वारको अन्तिम टुंगो लगाएका छन् ।

कांग्रेसको आज बिहान बसेको कार्यसम्पादन समितिले आफ्नो भागमा परेका ९ सिटका उम्मेद्वारको नाम सार्वजनिक भएको छ । जसमा कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती रहेका छन् ।

एमालेले आफ्ना ८ उम्मेदवारको नामावली तय गरेको छ। जसमा लुम्बिनी प्रदेशमा रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। त्यस्तै बागमतीबाट प्रेम दंगाल, कोशीबाट रोशनी मेचे र सोम पोर्तेल, मधेसबाट रेखा झा, गण्डकीबाट सम्झना देवकोटा, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिमबाट लिला भण्डारीलाई उम्मेदवार बनाइएको छ।

जसपा नेपालले आफ्नो भागमा परेको मधेस प्रदेशको एक सिटमा महन्थ ठाकुरलाई उम्मेदवार बनाएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष ठाकुरले केही समयअघि मात्रै जसपासँग एकता गर्ने सहमति गरेसँगै उनलाई राष्ट्रिय सभामा पठाइन लागिएको हो।

नेपाली कम्युनिस्ट पार्टीले एक्लै उम्मेदवारी दिने तयारी गरेको छ। त्यसका लागि सो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।

निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यक्रम रहेको छ। १८ सिटका लागि हुने यो निर्वाचनले राष्ट्रिय सभाको आगामी समीकरण तय गर्नेछ।

तपाईको बिचार