काठमाडौं । नेपालले भेनेजुयलाको सार्वभौमिकताको सम्मान गर्न अमेरिकालाई आग्रह गरेको छ । अमेरिकाले भेनेजुएलामा हमला गरी राष्ट्रपति निकोलस मदुरोलाई गरेको ‘कारबाही’विरुद्ध नेपाल ४ दिनपछि बोलेको हो ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने काम नगर्न आह्वान गर्दछ। संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लिखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यको राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान गरिनुपर्नेमा जोड दिन्छ।’
यही जनवरी ३ राति अमेरिकी सेनाले भेनेजुएलास्थित निवासमै आक्रमण गरी राष्ट्रपति मदुरो दम्पतीलाई अपहरण शैलीमा अमेरिका पुर्याएको थियो।
भेनेजुएला प्रकरणलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै मन्त्रालयले अगाडि भनेको छ, ‘नेपाल संवाद, कूटनीति र पारस्परिक समझदारीमार्फत विवाद शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्ने कुरामा जोड दिन्छ।’
अमेरिकामा लागुऔषध तथा हतियार तस्करी गरेको आरोपमा मदुरो दम्पतीलाई न्युयोर्कस्थित अदालतमा मुद्दा चलाइएको छ। त्यहाँस्थित हिरासतमा राखिएका उनीहरूलाई गत सोमबार अदालतमा पेस गरिएको थियो।
त्यस दिन भएको पहिलो सुनुवाइमा मदुरोले आफूले कुनै अपराध नगरेको र आफूलाई अपहरण गरिएको बयान दिएका छन्।
त्यसरी एउटा सार्वभौमसत्ता सम्पन्न मुलुकका राष्ट्रपतिविरुद्ध अमेरिकाले गरेको हमलाले विश्व राजनीतिमै तरंग ल्याएको छ। यसविरुद्ध विश्वका विभिन्न मुलुकले टिप्पणी गरिरहेका छन्।
तपाईको बिचार