शेखर कोइराला पनि आफू निकट केन्द्रीय सदस्यसँग छलफलमा - MirrorNepal.com

शेखर कोइराला पनि आफू निकट केन्द्रीय सदस्यसँग छलफलमा


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफलमा जुटेका छन्। कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा उनी निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायतका नेताहरूको सहभागिता रहेको कोइरालाको सचिवालय स्रोतले जनाएको छ।

यसैगरी कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। सभापति देउवाले दिउँसो ३ बजेका लागि छलफलमा बोलाएको केन्द्रीय सदस्यले जानकारी दिएका छन्।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्रको तयारी भइरहेका बेला कोइराला पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थितिबारे गम्भीर छलफलमा जुटेका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार पार्टी विभाजनको जोखिम बढ्दै गएको भन्दै त्यसलाई रोक्न कोइरालासँग आग्रह गर्न नेताहरू पुगेका हुन्।

उनका अनुसार बैठकमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका केही नेताहरू समेत सहभागी छन्। यसले पार्टीभित्रको आन्तरिक मतभेद र सम्भावित संकटप्रति नेताहरूको चासो बढेको संकेत गर्छ।

यसअघि कोइराला निकट केही केन्द्रीय सदस्यहरू विशेष महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागी भएका थिए। पार्टीभित्र बढ्दो असन्तुष्टि, नेतृत्वबीचको मतभेद र विशेष महाधिवेशनको मागलाई लिएर कांग्रेस थप दबाबमा परेको देखिन्छ।

तपाईको बिचार