धरानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १३ जना घाइते - MirrorNepal.com

धरानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १३ जना घाइते


काठमाडौं । भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुबाहक बस धरानको जिरो पोइन्टमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। दुर्घटनामा परि घाइते भएका मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

उनीहरूलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । प्रहरीका अनुसार ब्रेक फेल भई तीव्र गतिमा अनियन्त्रित भएको बस सडक किनारमा पल्टिएको हो।

दुर्घटनामा तीन पुरुष र दुई महिलाको ज्यान गएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ, जहाँ केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बसले जिरो प्वाइन्टमा रहेको औषधि पसल ‘न्यु शबा मेडिकल’मा ठक्कर दिँदा पसलसमेत क्षतिग्रस्त भएको छ। शैक्षिक संस्थाको बस भएपनी मृतकहरू विद्यार्थी जस्तो नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले बताए ।

हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन। मृतक र घाइतेहरू बसका यात्रु हुन् वा दुर्घटना भएको ठाउँमा किचिएका हुन् भन्ने एकिन हुन बाकीँ रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

तपाईको बिचार