काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ। देउवा पक्षको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयलाई राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेपछि सर्वोच्चमा रिट निवेदन दायर गर्ने तयारी गरिएको हो।
कानुनी पाटोको जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो। सोही अनुसार देउवा पक्षले आधिकारिकता दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिन लागेको हो। हाल देउवा पक्षका नेताहरू सर्वोच्च अदालतमा जम्मा हुने क्रम जारी रहेको बताइएको छ।
स्रोतका अनुसार रिट प्रक्रियामा वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायत कानुन व्यवसायीले साथ दिइरहेका छन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको र सोही महाधिवेशनबाट गगन थापा सभापति चयन भएका थिए।
देउवा पक्षले भने नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने दाबी गर्दै आएको छ। सोही आधारमा विशेष महाधिवेशन र त्यसबाट बनेको नेतृत्वलाई अस्वीकार गर्दै आयोगको निर्णयविरुद्ध अदालत जाने निर्णय गरिएको जनाइएको छ।
देउवा पक्षद्वारा माइतीघर मण्डलामा विरोध प्रदर्शन
निर्वाचन आयोगले गगन पक्षलाई वैधानिकता दिएपछि देउवा पक्षका कार्यकर्ताहरु आन्दोलित भएका छन्। आज माइतीघर मण्डलामा देउवा पक्षका कार्यकर्ताहरुले संविधानको मर्म मार्न पाइँदैन, विधिको शासन कायम गर, अवैधानिक निर्णय फिर्ता गर, कानूनी राज्यको सम्मान गर भन्ने जस्ता नारासहित आन्दोलन गरेका छन्।
साथै, लोकतन्त्र मास्न पाइँदैन, आयोगको पाराले दुख पायो साराले भन्ने खालका नाराहरु पनि आन्दोलनमा गुन्जिएको थियो।
तपाईको बिचार