नाउपा नेपालका रेशम चौधरीको उम्मेदवारी खारेज - MirrorNepal.com

नाउपा नेपालका रेशम चौधरीको उम्मेदवारी खारेज


  • Mirror Nepal ८ माघ २०८२, बिहिबार १९:१२:२१

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गराएका रेशमलाल चौधरीको मनोनयन बिहीबार खारेज भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय कैलाली–१ का अनुसार, प्रचलित निर्वाचन कानुन र निर्देशिकाले तोकेको मापदण्ड पूरा नभएको भन्दै चौधरीको उम्मेदवारी खारेज गरिएको हो ।

निर्वाचन अधिकृत देवराज भारतीले चौधरी उम्मेदवार बन्न कानुनी रूपमा अयोग्य ठहरिएकाले उनको मनोनयन कायम राख्न नसकिएको प्रस्ट पारेका छन् ।

नाउपा नेपालका उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरि दिएको छ। कानून बमोजिम गर्नु,’ निर्वाचन अधिकृतले गरेको निर्णयमा उल्लेख छ।

निर्वाचन अधिकृत भारतीले उम्मेदवारी खारेज गर्ने निर्णयमा मुख्यगरी तीन आधार समातिएको बताए। ‘सर्वोच्च अदालतको फैसलाबाट जन्मकैदको सजाय भएको देखियो। जन्मकैदको सजाय भएको व्यक्ति उम्मेदवार बन्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार अयोग्यताको कारण बन्छ’, भारतीले भने, ‘त्यसबाहेक राजनीतिक दलको सदस्य हुन समेत अयोग्य भएको भनेर यसअघि निर्वाचन आयोगले गरेको निर्णयलाई पनि हामीले आधारका रुपमा लिएका छौँ। साथै उहाँले कैद माफी पाएको तर सजाय उस्तै रहेको देखियो।’

टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। तर प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन्। २०७९ को चुनावमा पनि रेशम बर्दीया क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए।

त्यसबेला उनको उम्मेदवारी खारेज भएको थियो भने उनी त्यसबेला जेलमा थिए। त्यसपछि उनका बुवा लालवीर चौधरी बर्दीया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार भएका थिए। पछि उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका थिए।

लालवीर अहिले नाउपा नेपालमा छन्।

तपाईको बिचार

सम्बन्धित खबर