कांग्रेसका पार्टी सभापति थापाको पार्टी कार्यालयमा पदबहाली - MirrorNepal.com

कांग्रेसका पार्टी सभापति थापाको पार्टी कार्यालयमा पदबहाली


काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका छन्।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि थापा आजै पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्। त्यहाँ पुग्दा उनलाई नेताकार्यकर्ताले स्वागत गरेका छन्।

थापाले पार्टी केन्द्रीय कार्यालय पुगेका आफ्ना सुभेच्छुकहरुलाई हात हल्लाउदै अभिवादनसमेत गरे। उनलाई उपसभापति विश्वप्रकाश शर्माले सँगै लगेर सभापतिको कुर्सीमा राखेका थिए।

सभापति थापा पार्टी कार्यालय पुग्दा ठूलो संख्यामा भेला भएका नेता/कार्यकर्ताले ‘अबकी बार गगन सरकार’ भन्दै उनलाई स्वागत गरेका थिए।

आजै केहीबेरमा बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले सभापति थापालाई पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दैछ।

शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बोलाइएको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकबाट सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न लागिएको हाे ।

भाेलिकाे बैठकमा सभापति थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि रहेकाे बुझिएको छ ।

पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन भएको थियो। नयाँ केन्द्रीय कार्यसमिति बनेपछि पहिलोपटक शुक्रबार सानेपामा बैठक बस्न लागेको हाे ।

फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि सभापति थापाले वारेसमार्फत सर्लाही-४ मा उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै आजकै बैठकले निर्वाचन लक्षित विभिन्न समितिहरुसमेत बनाउने कार्यतालिका तय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

तपाईको बिचार