काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सातै प्रदेशमा गठबन्धनका १८ जना उम्मेदवार निर्वाचित भएका छन्। राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचनमा एमाले, कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच गठबन्धन भएको थियो ।
आइतबार १८ पदका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा कांग्रेस सबैभन्दा ठुलो दल बन्न पुगेको छ । निर्वाचनपछि नेपाली कम्युनिस्ट पार्टी दोस्रोमा झरेको छ । १८ पद मध्ये आइतबारको निर्वाचनमा कांग्रेसका तर्फबाट ९ जना सदस्य निर्वाचित हुँदा राष्ट्रिय सभामा कांग्रेसको सिट बढेर २५ पुगेको छ । यही तालमेल अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट प्राप्त गरेका हुन् ।
यसअघि राष्ट्रिय सभामा कांग्रेसका १६ सांसद थिए । निर्वाचनबाट ९ सांसद थपिएपछि उसको सिटसंख्या बढ्न पुगेको हो । यससँगै राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरिएकाे छ ।
राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी भएका छन् । खातीले ३ हजार ९६९ मतभारत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मतभार प्राप्त गरे ।
यसैगरी भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६७६ मतभार पाइन् । २२४ मध्ये २२० मतदाता मतदानमा सहभागी भएका थिए ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा गठबन्धनका चारैजना उम्मेदवार निर्वाचित भएको छ। आइतबार विभिन्न चार समुहको चार सिटका लागि मतदान भएकोमा अन्यमा जनता समाजवादी पार्टी (नेपाल)का संरक्षक महन्थ ठाकुर, महिलामा नेकपा एमालेकी रेखा झा, दलितमा नेपाली कांग्रेसका धमेन्द्र पासवान र अपाङ्गता भएका/अल्पसंख्याक समुहमा कांग्रेसकै रंजित कर्ण निर्वाचित भएका छन्।
जसपा नेपालका नेता महन्थ ठाकुरले ७ हजार ७ सय २५ अंकभार (मत) प्राप्त गरेर निर्वाचित भएका छन्। उनका प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लक्ष्मण पौडेलले १ हजार ८ सय ५ अंकभार प्राप्त गरेका छन्।
महिला समुहमा एमालेकी रेखा झाले ७ हजार २ सय २२ अंकभार ल्याएर निर्वाचित भएकी छन् भने उनकी निकटम प्रतिद्वन्दी नेकपाकी शमीकुमारी अग्रवालले १ हजार ९ सय ४४ र जसपा नेपालकी चन्द्रकला देवी साहले ३२२ अंकभार मत प्राप्त गरेकी छन्।
अपाङ्गता÷अल्पसंख्यक समुहमा कांग्रेसका रंजित कर्णले ८ हजार ९३ अंकभार भएको मत पाएका हुन्। उनका प्रतिद्वन्दी नेकपाका रामनन्दन प्रसादले १ हजार ३ सय ६१ र जसपा नेपालका शैलेश कुमार चौधरीले २७७ अंकभार भएको मत पाएका छन्।
दलित समुहमा कांग्रेसका धर्मेन्द्र पासवान ७ हजार ९०४ अंकभार भएको मत पाएर निर्वाचित भएका छन्। उनका प्रतिद्वन्दी नेकपाका शम्भु पासवान हजारीले १ हजार ३७६ अंकभार भएको मत प्राप्त गरेका छन्।
यसैगरी बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बागमती प्रदेशमा रिक्त दुई पदको लागि आइतबार हेटौंडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी माविमा भएको निर्वाचनमा गठबन्धनबाट एमालेका प्रेमप्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा विजयी भएका हुन् ।
दंगालले प्रदेशसभा तर्फबाट ५९ मतसहित ३ हजार १२७ मतभार र स्थानीय तहतर्फ १६२ मत सहित ३ हजार ७८ गरी कुल ६ हजार २०५ मतभार पाए । देवकोटाले प्रदेशसभा तर्फबाट ६० मतसहित ३ हजार १८० मतभार पाइन् । त्यस्तै, स्थानीय तहतर्फ १६१ मतसहित ३ हजार ५९ मतभार गरी देवकोटाले कुल ६ हजार २३९ मतभार पाइन् ।
यसैगरी लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू विजयी भएका छन् । निर्वाचनमा खुलातर्फ कांग्रेसका चन्द्रबहादुर केसी, महिलातर्फ एमालेकी रामकुमारी झाँक्री र अपाङ्गता अशक्ततर्फ कांग्रेसका वासुदेव घिमिरे (जङ्गली) विजयी भएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
निर्वाचनमा घिमिरेले नेकपाका उम्मेदवार सर्जन विकलाई पराजित गर्दै राष्ट्रिय सभामा स्थान सुरक्षित गरेका हुन् ।
लुम्बिनी प्रदेशमा २८६ मतदाता मतदानमा सरिक थिए। त्यसमध्ये प्रदेशसभा सदस्य ७८ र स्थानीय तहका प्रमुख एवं उपप्रमुख २०८ जना थिए। रामकुमारी झाक्री नेपाली राजनीतिमा स्पष्ट वक्ता र वैचारिक रूपमा प्रखर नेतृका रूपमा चिनिन्छिन्। उनी नेकपा एमालेकी नेतृ हुन् र युवापुस्तामाझ लोकप्रिय राजनीतिक व्यक्तित्वका रूपमा परिचित छन्।
यसैगरी कोशी प्रदेशमा खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा महिला तर्फ नेकपा एमालेकी उम्मेदवार रोशनी मेचे निर्वाचित भइन् भने दलित तर्फ गठबन्धनकै सोम पोर्तेल विजयी भए । विजयी उम्मेदवार मेचेले ७ हजार १७३ मत प्राप्त गरी विजयी बन्दा पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गरे, तर मतदानका क्रममा भने कांग्रेस एमालेका पालिकाका २५ जना उम्मेदवारले नेकपाकी महिला उम्मेदवार नमिता न्यौपानेलाई मतदान गरे । यस्तै प्रदेशका कांग्रेस–एमाले गठबन्धनका ५ जना सांसदले नेकपालाई मतदान गरे ।
कर्णालीमा राष्ट्रियसभाका दुई पदका लागि भएको निर्वाचनमा गठबन्धन दल कांग्रेस-एमालेका उम्मेदवारहरू विजयी भएका छन् । अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भएकी हुन् ।
नेकपाका दुवै उम्मेदवार पराजित भए । आइतबार बिहानदेखि सुरु भएको मतदानमा ९६.४६ मत खसेको थियो । उनका अनुसार, कुल १९८ मतदाता सङ्ख्यामध्ये १९१ मत खसेको छ ।
प्रदेश सभातर्फ ४० प्रदेश सभा सदस्यमध्ये ३९ जनाले मतदान गरेका छन् भने १ जनाले मत हालेनन् । स्थानीय तहतर्फ १५८ मतदाता सङ्ख्यामध्ये १५२ मत मात्रै खसेको थियो । स्थानीय तहका ६ जना जनप्रतिनिधिहरूले मत खसालेका छैनन् ।
राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट प्राडा जगत तिमिल्सिना र सम्झना देवकोटा विजयी भएका छन् ।आज भएको मतदानबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका जगत अन्य कोटा र एमालेकी सम्झना महिला कोटाबाट सदस्य निर्वाचित भए ।
६०६९ मतभारमध्ये जगतले ५ हजार ३३ मतभार र सम्झनाले ५ हजार १४ मत पाए । निर्वाचनमा एमाले र कांग्रेसबीच गठबन्धन भएको थियो । नेपाली कम्युनिस्ट पार्टीबाट गोमा लुइँटेल घिमिरे र कपिल लामा तथा राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा र शंकरप्रसाद बरालले उम्मेदवारी दिएका थिए ।
तपाईको बिचार