काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवारी दर्तापछि पहिलो पटक मधेश पुगेका छन् । कांग्रेस केन्द्रीय समितिले थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणागरेपछि सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका हुन् ।
वारेसमार्फत मनोनयन दर्ता गरेका थापाले यसअघि काठमाडौंमा भूगोलका नेताहरूसँग निरन्तर भेटघाट गरेका थिए। उम्मेदवार बनेपछि बाराको सिमरा विमानस्थल पुगेका थापालाई स्वागत गर्न ठूलो भीड देखिएको थियो।
सर्लाही, बारा लगायत तराईका विभिन्न जिल्लाबाट कांग्रेसका कार्यकर्ता तथा समर्थकहरू उनको स्वागतका लागि सिमरा पुगेका थिए।
सर्लाही-४ बाट उम्मेदवार बनेका थापाले अब आफ्नो क्षेत्रमा पार्टीका स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेर चुनावी अभियान सुरु गर्ने बताइएको छ ।
थापाको सर्लाही बसाइका क्रममा उनले आफ्नो क्षेत्र बाहेक समग्र मधेश प्रदेशको चुनावी क्याम्पेनको नेतृत्व गर्ने बताइएको छ । कांग्रेसले मधेश प्रदेशमा आगामी फागुन ७ गते चुनावी विशेष सभाको आयोजना गर्ने निर्णय गरिसकेको छ ।
कांग्रेसले सभापति थापाको उपस्थितिमा जनकपुरधाममा गर्न लागेको चुनावी सभा स्थगित गरेको थियो । निर्वाचन आयोगको कडा निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी बाध्यताका कारण पार्टीले उक्त कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय गरेको हो।
तपाईको बिचार