सडकमा गुड्दागुड्दै महिन्द्राको विद्युतीय कारमा आगलागी - MirrorNepal.com

सडकमा गुड्दागुड्दै महिन्द्राको विद्युतीय कारमा आगलागी


काठमाडाैं । महिन्द्राको बीई ६ विद्युतीय कारमा भीषण आगलागी भएको छ । भारतको उत्तर प्रदेशस्थित हापुरमा राजमार्गमा गुड्दागुड्दै महिन्द्राको यूपी १३ यू ७५५५ नम्बरको विद्युतीय कारमा भीषण आगो लागेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

समाचारअनुसार कारका मालिक अमन खरबन्दा बुलन्दशहरबाट हापुरतर्फ यात्रा गर्दै गर्दा कुराना टोल नजिकै कारबाट धुवाँ निस्किएको थियो । केही क्षणमै धुवाँ आगोमा परिणत भयो र कारमा भीषण आगलागी भयो ।

आगलागीमा कुनै मानवीय क्षति भने नभएको समाचारमा उल्लेख छ । आगो लाग्नेवित्तिकै चालकले तुरुन्तै कारबाट बाहिर निस्किएर ज्यान जोगाएका थिए । आगलागीपछि राजमार्गमा आतंक मच्चिएको थियो ।

दैनिक भास्करको रिपोर्टअनुसार, आगलागीको जानकारी प्राप्त भएपछि हाफिजपुर स्टेशनबाट प्रहरी घटनास्थलमा पुगेर आगो निभाएका थिए । आगो नियन्त्रणमा ल्याउनुअघि अग्निनियन्त्रकहरूले ठूलो कठिनाइको सामना गर्नुपरेको थियो । घटनाका कारण राजमार्गमा केही समयको लागि ट्राफिक अवरुद्ध भएको थियो ।

प्रहरी स्टेशन अफिसर प्रवीण कुमारले प्रारम्भिक अनुसन्धानअनुसार सर्ट सर्किटका कारण कारमा आगो लागेको बताए ।

कारमा आगलागी भएको महिन्द्राले पनि स्वीकार गरेको छ । महिन्द्राका प्रवक्ताले कारमा आगलागी भएको जानकारी आफूले पाएको बताए । ‘हामीलाई गुलाओठी नजिकै महिन्द्रा बीई ६ कारमा आगलागी भएको घटनाबारे जानकारी छ। उच्च-तापमानको अलर्ट प्राप्त भएपछि चालक र सबै यात्रुहरू सुरक्षित रूपमा बाहिर निस्किए र कुनै हानि भएन,’ उनले भनेका छन्, ‘अलर्टको कारण गाडीको गति सीमित भयो र प्रणाली बन्द भयो, जसले गर्दा गाडी रोकियो ।’

यद्यपि, कम्पनीले ब्याट्रीका कारण आगो नलागेको दाबी गरेको छ । एक्सेलेरेटर र ब्रेकको निरन्तर र एकैसाथ प्रयोगले आगलागी भएको हुन सक्ने कम्पनीको अनुमान छ । यद्पि, आगलागीबारे विस्तृत अनुसन्धान शुरू भएको उल्लेख छ ।

महिन्द्राको बीई ६ कारमा आगलागी भएसँगै तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्, जसमा प्रयोगकर्ताहरूले महिन्द्राका विद्युतीय गाडीको विश्वसनीयता र सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । महिन्द्रा बीई ६ र महिन्द्रा एक्सईभी ९ ई भारतमा सर्वाधिक बिक्री हुने विद्युतीय सवारी साधनहरू हुन् ।

महिन्द्राका गाडी नेपालमा पनि धेरै बिक्री हुनेमध्येमा पर्छन् । तर, आगलागीको यो घटनाले नेपाली ग्राहकको विश्वास पनि घट्ने अनुमान छ ।

भारतीय अटोमोबाइल महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले सन् १९९१ मा नै अग्नि इन्कर्पोरेटेड प्रालिसँगको सहकार्यमा नेपालमा आफ्नो व्यवसाय शुरू गरेको थियो । अग्नि ग्रुप महिन्द्राका लागि नेपालको आधिकारिक वितरक हो ।

तपाईको बिचार