गगन पार्टीको १५औँ महाधिवेशनबाट फेरी सभापति बन्ने - MirrorNepal.com

गगन पार्टीको १५औँ महाधिवेशनबाट फेरी सभापति बन्ने


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनबाट पनि फेरी सभापति बन्ने बताएका छन् । गत पुष २७ देखि ३० सम्म काठमाडौँमा भएको बिशेष महाधिवेशनबाट निर्विरोध सभापति चुनिएका थिए ।

सर्लाही – ४ बाट प्रतिनिभिसभा निर्वाचनका उम्मेदवार रहेका उनले बलरा नगरपालिकामा अगुवा कार्यकर्तासँग भेटघाटमा बोल्दै आफू अहिले विशेष महाधिवेशनबाट भर्खरै मात्रै सभापति भएको बताए ।

‘म भाग्ने मान्छे होइन, म कांग्रेसको सभापति बल्ल बनेको छु । महाधिवेशन आउँदै छ फेरि बन्नुछ, त्यसपछि केही समय क्रियाशील राजनीतिमा रहनेछु,’ उनले भने ।

उनले आफू मधेशको छोरा बनेर सर्लाही ४ मा आएको समेत बताए । आफूलाई काठमाडौं ४ का जनताले त्यहीबाट चुनाव लड्न आग्रह गरेको भन्दै उनले अर्को चुनावमा सर्लाही ४ का मतदाताले पनि त्यतै भन्ने परिस्थिति बनाउने जिकिर गरे ।

मंगलबार सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा आयोजित संवाद कार्यक्रममा स्थानीय सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो निर्णय आकस्मिक नभएको बताए । उनका अनुसार यो निर्णय पर्याप्त सोचविचारपछि लिइएको हो ।

थापाले मधेशसँग सम्बन्धित विषयवस्तु नजिकबाट बुझ्न र गहिरो अध्ययन गर्न भित्री मधेश क्षेत्र रोजिएको स्पष्ट गरे । ती मुद्दामा आगामी दिनमा प्रभावकारी बहस र पैरवी गर्न सहज हुने उनको भनाइ छ।

उनले सर्लाही जिल्लाको पार्टी संरचनाबाट पटक-पटक उम्मेदवार बन्न आग्रह आएको प्रसङ्ग पनि उल्लेख गरे । पार्टीको स्थानीय तहबाट आएको सुझाव र मागलाई ध्यानमा राखेर आफूले मधेशबाट निर्वाचन लड्ने निर्णय गरेको उनले बताए।

उनका अनुसार यस निर्णयले मधेशका सरोकार, आवश्यकता र चुनौतीलाई राष्ट्रिय तहमा अझ व्यवस्थित र तथ्यपरक रूपमा उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको बिचार