काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र अप्ठेरो परिस्थितिमा रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलन र जनताको चाहनाको सम्बोधनका लागि एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन्।
विप्लव नेतृत्वको पार्टी नेकपा (माओवादी)बाट विद्रोह गरी केन्द्रीय सदस्यहरू सहित नेकपामा समायोजन कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले राष्ट्र जोगाउन र आन्दोलनलाई सही दिशामा अघि बढाउन कम्युनिष्ट शक्तिहरूबीच एकता ऐतिहासिक आवश्यकता भएको बताए। उनले नेकपा गठन कुनै आवेगमा नभई देशको असहज र असाधारण परिस्थितिमा नेतृत्वले खेल्नुपर्ने भूमिकालाई आत्मसात् गर्दै गरिएको स्पष्ट पारे।
उनले भने,‘राष्ट्र अप्ठेरोमा छ। राष्ट्र जोगाउन, आन्दोलन जोगाउन, जनताको चाहनाको सम्बोधन गर्न एकतावद्ध हुनुको विकल्प छैन। यो आजको ऐतिहासिक आवश्यकता हो। नेकपा पार्टी गठन कुनै आवेगमा गरिएको होइन।’
उनले विप्लव नेतृत्वले सम्भव भएसम्मका कम्युनिष्ट घटकहरूलाई एकतामा समेटेर शक्ति आर्जन गर्ने अवसर गुमाएको टिप्पणी गरे।
‘राष्ट्रको आजको असहज र असाधारण परिस्थितिमा नेतृत्वले खेल्नुपर्ने भूमिकालाई आत्मसाथ गरेर तमामा कम्युनिष्ट आन्दोलनका सम्भव भएसम्मका घटकहरुलाई एकता गरेर शक्ति आर्जन गर्ने अवसर विप्लव नेतृत्वले गुमाउनु भएको छ । विप्लव नेतृत्व ठूलो सम्मान पाउँदै हुनुहुन्थ्यो एकतामा,’उनले भने।
नेकपा संयोजक प्रचण्डले आफूहरूले विप्लवलाई विशेष महत्व दिएको बताउँदै जेनजी आन्दोलनपछि भने उनी बढी विचलित र भड्किएको आरोप लगाए। साथै, सँगै बसेको कमरेडको हैसियतले आत्मसमिक्षा गर्न आग्रह गर्दै दाहालले अझै सबै गुमि नसकेको बताए।
उनले भने, ‘विप्लवजीलाई अलि बढी महत्व दिने गरेका थियौं। तर जेन-जी आन्दोलनपछि विप्लव नेतृत्व बढी नै भड्किनु भयो। धेरै नै विचलित हुनुभयो। ठूलो भूमरीमा फस्नुभयो। विप्लवसँग हाम्रो कुनै घृणा आक्रोस छैन। तर सँगै बसेको कमरेडको नाताले पनि म भन्न चाहन्छु तपाईंले आत्मसमिक्षा गर्ने यो बेला हो। अझै सबै गुमिसकेको छैन, आत्मसमिक्षा गरेर एकतामा आउनु भयो भने हामी तयार छौं। देश असहज परस्थितीमा छ। हामी एकतावद्ध भएर देशव्यापी अभियानमा गएनौं भने देश अर्को दुर्घटनातिर जान सक्छ।’
काठमाडौं -६ का उम्मेद्द्वार ढकाल नेकपा प्रवेश
नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवं विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । ढकाल नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवं विद्यार्थी संगठनका पूर्वअध्यक्ष हुन् ।
पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच पार्टीका संयोजक प्रचण्डले आज ढकालसहित अखिल (समाजवादी) का महासचिव प्रकाश झप्रेल, सचिवालय सदस्य लोकेश जोसीलगायत ८ जना केन्द्रीय सदस्यलाई पार्टीमा भित्र्याए ।
अधिवक्तासमेत रहेका ढकाल प्रतिनिधिसभा काठमाडौं– ६ बाट प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन् । उनी पछिल्लो समय विप्लव तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का विश्वास पात्र थिए ।
तपाईको बिचार