काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेश नेपाली कांग्रेसको जन्मभूमि भएको बताएका छन् । बुधबार सर्लाही-४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले मधेशले कांग्रेसलाई जन्म दिएको बताए ।
‘मधेश कांग्रेसको जन्मभूमि हो’, सभापति थापाले भने, ‘कांग्रेसलाई बनाएको, कांग्रेसलाई हुर्काएको र कांग्रेसलाई बलियो बनाएको यही धर्तीले हो ।’ उनले विगतमा भएका कमजोरी र गल्ती सुधार गर्ने सङ्कल्पसहित मधेश आएको बताए । ‘विगतमा हामीले थुप्रै गल्ती र कमजोरी गर्यौँ । ती गल्ती सुधार गर्ने सङ्कल्पसहित हामी मधेश आएका हौँ,’ उनले भने ।
अरूले के गरे भने भन्दा कांग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्नेमा उनले जोड दिए । मधेस प्रदेशअन्तर्गत सर्लाही- ४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेशसम्बन्धी कार्यक्रममा व्यस्त सभापति थापाले आज धनकौलमा आयोजित कार्यक्रममा सांसद कार्यालय स्थापना गरी आफ्ना मतदातासँग सिधै सम्पर्कमा रहेर विकास निर्माणलगायतका काममा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे ।
सभापति थापाले कांग्रेसले मधेशमै सभापतिलाई उम्मेदवार बनाएर निर्वाचनमा गएको उल्लेख गरे । उनले सर्लाहीका चार क्षेत्रसहित मधेशका ३२ वटै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारले साथ र सहयोगको अपेक्षा गरेको बताए ।
सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार थापाले आफ्ना मतदातासँग निर्वाचित सांसद प्रत्यक्षरुपमा जोडिनुपर्ने बताए ।
उनले भने, “मलाई यहाँका जनताले खोज्न अब कहीँ जानुपर्दैन, मेरो सम्पर्क कार्यालय यहीँ रहन्छ मैले पहाड बुझेँ, सहर बुझेँ र यसपटक मधेस बुझ्न उम्मेदवारीसहित यहाँ आएको हुँ । यहाँको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आफ्नो संयन्त्र, अनुभव र ज्ञानको अधिकतम सदुपयोग गरी समस्या सम्बोधनमा तल्लीन हुनेछु । तपाईँको नेता नभई बेटा छोरा बन्न सर्लाही आएको हुँ । तपाईँहरूले दिएको मतको सम्मान गर्दै विकास निर्माणलगायतका काममा समर्पित हुनेछु ।”
आफ्नो निर्वाचन क्षेत्रमा भएका भेटघाट तथा छलफलका क्रममा प्राप्त राय, सुझाव र अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सर्लाहीवासीको अनुरोधपछि यहाँ आएकाले माया पाउने विश्वास व्यक्त गरे ।
तपाईको बिचार