भारतमा दूधको मूल्य बढ्दा नेपाली किसानलाई राहत - MirrorNepal.com

भारतमा दूधको मूल्य बढ्दा नेपाली किसानलाई राहत


काठमाडौं । भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाउन थालेका छन् । भारतमा दूधको मूल्य बढेर नेपाली दूधको मूल्यसँग करिब बराबर भएपछि भारतबाट सस्तो दूध नेपाल भित्रिने क्रम यस वर्ष रोकिएको हो ।

विगतका वर्षमा यो मौसममा भारतबाट अवैध रूपमा ठूलो परिमाणमा दूध नेपाल भित्रिने गर्दा स्वदेशी उत्पादन प्रभावित हुँदै आएको थियो । दूध बिक्री हुन नसकेपछि किसान र सहकारीहरू प्रशोधनका लागि बाध्य हुने अवस्था थियो । तर यस वर्ष भारतमा दूधको मूल्य बढेपछि उल्टै नेपाली दूध सीमा क्षेत्र हुँदै अवैध रूपमा भारततर्फ जान थालेको छ, जसले नेपाली किसानलाई बजार सुनिश्चित गरेको छ ।

केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरका अनुसार हाल भारतमा दूधको मूल्य नेपालीभन्दा प्रतिलिटर ४६ पैसा मात्र बढी छ । “ढुवानी खर्च जोड्दा भारतीय दूध नेपालीभन्दा महँगो पर्छ, त्यसैले यस वर्ष भारतबाट दूध आएको छैन, बरु यहाँको दूध लुकीछिपी भारततर्फ गएको छ,” उनले भने ।

उनका अनुसार सीमा क्षेत्र हुँदै पटना लगायत भारतीय बजारमा दूध लगिएको सूचना आएको छ । यद्यपि भुक्तानी समयमा नपाउँदा किसानले पशुपालनमा रुचि घटाएका कारण समग्र उत्पादन भने केही कम भएको छ ।

यस मौसममा यकिन तथ्याङ्क नभए पनि दैनिक करिब ४५ लाख लिटर दूध उत्पादन भइरहेको र यो गत वर्षको तुलनामा करिब एक लाख लिटरले कम भएको कुँवरले बताए ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले भारतबाट दूध नआएकै कारण स्वदेशी उत्पादनले बजार पाएको बताए । उनका अनुसार मङ्सिर, पुस र माघ महिनामा दूधको खपत घट्ने भएकाले व्यवस्थापन चुनौतीपूर्ण हुने गर्दछ । “जाडो महिनामा दही, आइसक्रिमजस्ता दुग्धजन्य पदार्थको खपत कम हुन्छ,” उनले भने, “भारतबाट दूध नआउँदा यस वर्ष हामीलाई सहज भएको छ, यहाँकै दूध खपत भइरहेको छ ।”

विगतका वर्षमा दूध खपत नहुँदा ‘मिल्क होलिडे’ गर्नुपरेको स्मरण गर्दै बगाले यस वर्ष भने उत्पादित दूध बजारमै खपत भइरहेको बताए । दूध बिक्री नभएपछि प्रशोधनका लागि चितवन मिल्कमा ठूलो परिमाणमा दूध आउने गरेको भए पनि यस वर्ष त्यस्तो अवस्था नरहेको चितवन मिल्कका प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताए ।

गत वर्ष दैनिक करिब दुई लाख लिटर दूध प्रशोधनका लागि आउने गरेकोमा यस वर्ष भने ७० हजार लिटर हाराहारी मात्रै आएको उनले जानकारी दिए । उनका अनुसार असार र साउनमा प्रशोधनका लागि दूध नआउने भए पनि भदौदेखि जेठसम्म आउने गर्दछ । यस वर्ष भदौ–असोजमा महिनाको करिब चार लाख लिटर, कात्तिकमा १० लाख, मङ्सिरमा १५ लाख र पुसमा २० लाख लिटर दूध प्रशोधनका लागि आएको छ, जुन गत वर्षको तुलनामा निकै कम हो । “गत वर्ष नौनी र दूध पाउडर राख्ने ठाउँ अभाव हुँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको थियो, अहिले त्यस्तो समस्या छैन,” उनले भने ।

भरतपुर महानगरपालिका-१ ठिमुरामा रहेको चितवन मिल्क कुनै समय घाटाका कारण बन्द भए पनि हाल सहकारी र डेरीहरूले शुल्क तिरेर दूध प्रशोधन गराउँदै आएका छन् । उद्योगको दैनिक प्रशोधन क्षमता डेढ लाख लिटर रहेको छ ।

तपाईको बिचार