काठमाडौं । दोस्रो राष्ट्रिय कोदो दिवस-२०८३ को अवसरमा रैथाने बाली कोदोको संरक्षण, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि तथा बजारीकरणलाई प्रभावकारी बनाउन मूल्य शृङ्खला सुदृढ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
‘कोदो बाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने मूल नारासहित सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ ठोकर्पामा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले कोदोको बढ्दो महत्वलाई मध्यनजर गर्दै उत्पादनदेखि प्रशोधन र बजार विस्तारसम्म सरकार, निजी क्षेत्र, सहकारी तथा किसानबीच समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रम कृषि, वन तथा वातावरण मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), लिबर्ड नेपाल, खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल तथा एसोसिएसन अफ एग्रिकल्चर जर्नालिस्ट (अनाज)को संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
कृषि विभागका महानिर्देशक तथा कोदो दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाशकुमार सञ्जेलले कोदो उत्पादन र मूल्य शृङ्खला विकासमा योगदान पुर्याउने किसानप्रति धन्यवाद व्यक्त गर्दै किसानका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको बताए । उनले विद्यालयको दिवा खाजामा स्थानीय स्तरमा उत्पादन हुने रैथाने खाद्यान्न समावेश गर्न स्थानीय तहलाई आग्रह गर्दै यसबाट किसानले सुनिश्चित बजार पाउने र स्थानीय अर्थतन्त्र समेत बलियो हुने विश्वास व्यक्त गरे ।
सुनकोशी गाउँपालिका–३ का वडाध्यक्ष पूर्णबहादुर महतले पछिल्लो समय किसानमा कोदो खेतीप्रति आकर्षण बढेको, उत्पादनमा सुधार आएको तथा बजार पहुँच विस्तार हुँदै गएको जानकारी दिए ।
कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले नेपालमा कोदोको उत्पादनसँगै उपभोग र माग निरन्तर बढिरहेको उल्लेख गर्दै सरकारले कोदो प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले २०८२ सालदेखि सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेपछि कोदोको प्रवर्द्धन अभियानले थप गति लिएको बताए ।
एफएओ नेपालका कार्यक्रम विशेषज्ञ महेश बडालले राष्ट्रिय कोदो दिवसलाई सरकारले प्राथमिकताका साथ मनाउनु सकारात्मक कदम भएको बताउँदै आगामी दिनमा कोदोको दीगो विकासका लागि प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक रहेको धारणा राखे । उनका अनुसार स्वास्थ्य र पोषणका दृष्टिले कोदोप्रतिको आकर्षण बढ्दै गएकाले यसको मूल्य शृङ्खला मजबुत बनाउनुपर्ने आवश्यकता छ ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव भट्टराईले गाउँघरमा कोदो उत्पादन घट्दै गए पनि सहरी क्षेत्रमा माग बढेकाले आयातसमेत बढिरहेको बताए । उनले उत्पादन वृद्धि, स्थानीय जात संरक्षण तथा कृषि यान्त्रिकीकरणमा जोड दिनुपर्ने बताए ।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले विगतमा ‘गरिबको खाना’ भनेर हेरिएको कोदो अहिले व्यावसायिक बालीका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे । उनले रासायनिक मलमा अत्यधिक निर्भरता घटाएर जैविक तथा रैथाने खेती प्रणालीलाई प्राथमिकता दिन आग्रह गरे ।
कार्यक्रममा कोदो संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याएका बाजुराको बडीमालिका नगरपालिकाका किसान सत्य खत्रीलाई सम्मान गरिएको थियो । त्यस्तै लमजुङको घनापोखरा सहकारी संस्था, कृषि पत्रकारितामा योगदान पुर्याएको भन्दै कृषि पत्रिकाका प्रकाशक तथा सम्पादक गोपाल आले मगर तथा सुनकोशी गाउँपालिकालाई पनि कदरपत्र प्रदान गरिएको थियो ।
काभ्रेको चौँरीदेउराली गाउँपालिकामा पनि जिल्ला कृषि विकास कार्यालय, स्थानीय पालिका, खाद्यका लागि कृषि अभियान तथा अनाजको संयुक्त आयोजनामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ । कार्यक्रममा स्थानीय जात संरक्षण, उत्पादन वृद्धि तथा कोदोको व्यावसायीकरणमा जोड दिइएको थियो ।
कोदो उत्पादन र व्यापारको अवस्था
कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २ लाख १४ हजार ४७७ हेक्टर क्षेत्रफलमा कोदो खेती भई २ लाख ८४ हजार ३५२ मेट्रिक टन उत्पादन भएको छ । औसत उत्पादकत्व प्रतिहेक्टर १.३३ मेट्रिक टन रहेको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा करिब ६२ करोड २८ लाख रुपैयाँ बराबरका ४४.८८ मेट्रिक टन कोदोजन्य बाली तथा जुनेलो आयात भएको छ भने सोही अवधिमा १३ लाख २५ हजार रुपैयाँ बराबरका २.११ मेट्रिक टन कोदो तथा बीउ निर्यात भएको तथ्यांक छ । सरोकारवालाले बढ्दो आयातलाई प्रतिस्थापन गर्न उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
विशेषज्ञहरूका अनुसार कोदो प्रोटिन, फाइबर, आइरन, क्याल्सियम, म्याग्नेसियम तथा विभिन्न भिटामिनको महत्वपूर्ण स्रोत हो । परम्परागत परिकार ढिँडो, रोटी र सातुसँगै केक, ब्रेड, बिस्कुट, चाउमिन, पिज्जा लगायत आधुनिक परिकारमा प्रयोग बढाउन सके आन्तरिक बजार विस्तारका साथै पर्यटन क्षेत्रमार्फत पनि यसको माग वृद्धि गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।
तपाईको बिचार