इन्धनको मूल्य बढेपछि आन्तरिक तर्फको हवाई भाडामा वृद्धि - MirrorNepal.com

इन्धनको मूल्य बढेपछि आन्तरिक तर्फको हवाई भाडामा वृद्धि


काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएसँगै आन्तरिक उडानको हवाई भाडा पनि बढेको छ।

निगमले १७ साउनबाट लागू हुने गरी इन्धनको मूल्य बढाएपछि प्रतिलिटर हवाई इन्धनको मूल्य २९० रुपैयाँ पुगेको छ। सोही मूल्य समायोजन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादरसहितको जानकारी वायुसेवा कम्पनीहरूलाई गराएको छ भने बढेको मूल्य आजैदेखि कार्यान्वयनमा आएको छ।

प्राधिकरणका अनुसार काठमाडौंबाट धनगढी रुटमा यसअघि १० हजार १२० रुपैयाँ रहेको फ्यूल सरचार्ज बढेर ११ हजार पुगेको छ, जसअनुसार धनगढी जाने टिकटको मूल्य मात्रै ८८० रुपैयाँले बढेको छ।

यसपटकको मूल्य वृद्धिको मार सबैभन्दा बढी विराटनगर–धनगढी रुटमा परेको छ, जहाँ १ हजार २९० रुपैयाँ भाडा बढेको छ। त्यसैगरी नेपालगन्ज–भद्रपुर रुटमा १ हजार १७० र जनकपुर–धनगढी रुटमा ११ सय रुपैयाँले मूल्यवृद्धि भएको छ।

अन्य विभिन्न रुटहरूमा पनि हवाई भाडा बढेको छ। काठमाडौंबाट हुने उडानहरूमा माउन्टेन फ्लाइटमा ६८५, भद्रपुरमा ६०५, विराटनगरमा ४८०, जनकपुरमा २६० र भद्रपुर रुटमा २१५ रुपैयाँले टिकटको मूल्य बढेको छ।

यसैगरी, काठमाडौंबाट पोखरा ३१५, भैरहवा ४१०, नेपालगन्ज ६५५, तुम्लिङटार ३७० र सिमराको भाडा १८० रुपैयाँले वृद्धि भएको छ।

यसैगरी मोफसलका अन्य रुटहरूमा पोखरा–भद्रपुर ८१०, पोखरा–धनगढी ६८५ र पोखरा–जनकपुर रुटमा ५२५ रुपैयाँले मूल्य बढेको देखिएको प्राधिकरणले जनाएको छ।

तपाईको बिचार