काठमाडौं । म्यानमारको एक अदालतले त्यहाँका ‘स्क्याम सेन्टर’मा काम गर्ने १८ जना नेपालीलाई एक वर्ष कैद सजाय सुनाएको छ । उनीहरूले एक वर्षसम्म म्यानमारका कारागारमा बसि श्रम पनि गनुपर्ने सजाय अदालतले सुनाएको छ ।
“म्यानमारको विदेश मन्त्रालयबाट एक पत्रमार्फत १८ जना नेपालीलाई एक वर्षको कैद सजाय भएको जानकारी माघ १९ गते प्राप्त भएको छ । एक वर्ष श्रम गर्नुपर्ने गरी सजाय तोकिएको छ । यस सम्बन्धमा के कसरी उनीहरूलाई यस्तो सुजाय सुनाइएको हो हामी बुझ्दै छौँ,” म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले बाह्रखरीसँग भने ।
एक वर्षको श्रमसहित कैद सजाय सुनाइएका १८ जना नेपाली सबै पुरुष भएको घिमिरेले बताए । म्यानमारको म्यावडी क्षेत्रमा गैरकानुनी तरिकाले सञ्चालित स्क्याम सेन्टरहरूमा कार्यरत उनीहरूलाई उद्धार गर्ने क्रममा म्यानमार प्रहरीले नियन्त्रणमा लिएको थियो ।
केही साताअघि थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासबाट एक टोली उनीहरूलाई उद्धार गर्न म्यानमार बोर्डरनजिक पनि गएको थियो । सोही क्रममा म्यावडीबाट थाइल्यान्ड सीमानजिक आइपुगेका उनीहरूलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिई मुद्दा अघि बढाएको थियो ।
“यसरी सजाय पाउनेहरू विभिन्न प्रलोभनमा परी स्क्याम सेन्टरमा कार्यरत नेपाली छन्,” राजदूत घिमिरेले भने ।
मानव तस्करले ठूलो संख्यामा नेपालीलाई विभिन्न प्रलोभनमा पारी म्यानमारको म्यावडी पुर्याउने गरेका छन् । म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावासले पटकपटक यस्तो प्रलोभनमा नपर्न भन्दै सूचना जारी गरे पनि जाने क्रम रोकिएको छैन ।
मानव तस्करले विभिन्न प्रलोभन देखाई कति नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्रमा सञ्चालित स्क्यामिङ केन्द्रमा पुर्याएका छन् भन्ने तथ्यांक भेटिँदैन । तर, ती क्षेत्रबाट उद्धार गरिएका नेपालीको संख्याले त्यहाँ ठूलो संख्यामा नेपालीलाई पुर्याइएको स्पष्ट हुन्छ ।
पछिल्लो अढाई वर्षावधिमा म्यानमार र थाइल्यान्डस्थित नेपाली दूतावासले त्यहाँबाट चार सयभन्दा बढी नेपालीलाई उद्धार गरी नेपाल फर्काइसकेका छन् ।
थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार पछिल्लो अढाई वर्षमा कम्बोडिया–थाइल्यान्ड, म्यानमार–थाइल्यान्ड सीमा तथा लाओसमा स्क्यामिङ केन्द्रहरूबाट ३६५ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ ।
थाइल्यान्डस्थित नेपाली दूतावासले आर्थिक वर्ष ०८०/८१ मा ६८ जना, ०८१/८२ मा १५६ जना र चालु आव ०८२/८३ को हालसम्म १४५ जना उद्धार गरी नेपाल पठाएको छ । सोही अवधिमा म्यानमारस्थित नेपाली दूतावासले ७४ जनाभन्दा बढीलाई उद्धार गरी म्यानमारबाट नेपाल फर्काएको छ ।
म्यावडीमा पुर्याएपछि गाँसबासको पर्याप्त सुविधा नदिई नेपालीलाई कम्पाउन्डभित्र बन्धक बनाई साइबर स्क्यामिङ, अनलाइन फ्रडजस्ता कार्यमा लगाउने गरिएको भनाइ उद्धारपछि नेपाल फर्किएका पीडितहरूको छ ।
पछिल्ला वर्षमा साइबर स्क्यामिङसँग सम्बन्धित १६ वटा मुद्दा दर्ता भई अनुसन्धानपश्चात् काठमाडौं जिल्ला अदालतमा बुझाएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार ती मुद्दामध्ये चारवटा कम्बोडिया, तीनवटा लाओस र नौवटा म्यानमारसँग सम्बन्धित छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रारम्भिक अनुसन्धानले म्यानमार जाने क्रममा थाइल्यान्डबाट म्यानमारसम्म ३६ घण्टा कारमा यात्रा गराई म्यानमारको केके–१ पार्कमा पुर्याउने गरेको देखाएको छ ।
केके–१ पार्क कम्पनीमा पुर्याएपछि कम्पनीका अधिकारीहरूले कामको ब्रिफिङ गर्छन् । विभिन्न देशका मानिससँग कुराकानी गरी उनीहरूलाई बिट क्वाइनमा लगानी गर्न र प्रेम सम्बन्धमा जोडिन प्रेरित गर्न लगाइने गरेको ब्युरोको अनुसन्धानमा देखिएको छ ।
त्यतिमात्र होइन, कम्पनीमा पुर्याइएपछि नेपालीलाई के–के कुरा बोल्ने, कसरी च्याट रिप्लाई गर्ने, कसरी ग्राहकलाई फसाउनेजस्ता विषयमा ट्रेनिङ दिइन्छ ।
उद्धारपछि फर्केका पीडितहरूका अनुसार काम गर्ने क्रममा नेपालीलाई ‘टार्गेट’ दिइन्छ । ‘टार्गेट’ हासिल गर्न नसकेमा शारीरिक थकान हुने सजाय दिने गरिन्छ ।
पानीको जार बोकाई भर्याङमा तलमाथि गर्न लगाउने, खुट्टाले शरीरमा कुट्ने, करेन्ट लगाउने, अध्याँरो कोठामा थुन्ने, ‘फ्रग जम्प’ गर्न लगाउनेजस्ता सजाय दिने पीडितहरूले प्रहरीसँगको बयानमा भनेका छन् ।
काम मन नपरेको र त्यहाँबाट निस्कन खोज्दा आठ लाख नेपाली रुपैयाँ बुझाउन लगाउने अन्यथा ‘तिमीहरू जान पाउँदैनौ’ भनी बन्धक बनाउने र बाध्यकारी रूपमा काम लगाउने गरेको पनि पीडितहरूको भनाइ छ ।
तपाईको बिचार