काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच मंगलबार शीष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा शीष्टाचार भेटवार्ता भएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार जापान गएका थिए । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल जापान गएका हुन् । सोही क्रममा राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच भेटवार्ता भएको हो ।
सो भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन् ।
‘जापानले नेपाललाई मानव संशाधन, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नालगायतका क्षेत्रमा सहयोग गरिरहेको छ, यसबाट नेपाल र नेपाली अत्यन्त लाभान्वीत भएका छन्’, जापानका सम्राट नारुहितोसँग भएको कुराकानीमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले दुवै देश गौतम बुद्धको शिक्षा र आर्दशबाट प्रेरित रहेको पनि बताए । ‘बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गरेको छ’, राष्ट्रपति पौडेलले भने ।
दुवै देशबीच इतिहास, संस्कृति र आपसी सहयोगमा लामो समयदेखि आधारित सम्बन्ध, कूटनीतिक सम्बन्ध स्थापनायता अझ निकट र गहिरो मित्रताको साथ अघि बढेको राष्ट्रपति पौडेलको भनाइ थियो । ‘यस वर्ष हामीले मनाउँदै गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव हामीबीच स्थापीत द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा हो’, राष्ट्रपति पौडेलले भने ।
उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुवै देशबीचको सम्बन्धलाई थप मजबुत बताएको बताउँदै राष्ट्रपति पौडेलले सन् १९८७ मा राजकुमारका रुपमा सम्राट नारुहितोले गरेको मैत्रीपूर्ण भ्रमणका क्रममा काठमाडौं, भक्तपुर, पोखरा र लुम्बिनीको भ्रमणको स्मरण गरे । साथै, उनले सन् २०२० मा आफूलाई ग्राण्ड कर्डन अफ दी अर्डर अफ दि राइजिङ सनबाट विभुषित गरेकोमा सम्राट र जापान सरकारप्रति आभार व्यक्त गरे । राष्ट्रपति पौडेलले नेपाल सरकार र जनताका तर्फबाट जापान सरकारको सद्भावना र सहयोगका लागि आभार प्रकट गर्दै सम्राट र साम्राज्ञीलाई अनुकूल समयमा नेपाल भ्रमणका लागि निमन्त्रणा गरे ।
सो अवसरमा जापानका सम्राट नारुहितोले नेपाल जापान कूटनीतिक सम्बन्धको वार्षिकोत्सव हर्षोल्लासका साथ मनाउनुपर्ने बताएका छन् । सो अवसरमा उनले सन् १९८६ मा आफूले गरेको नेपाल भ्रमणको याद आफूलाई अझै ताजै रहेको उल्लेख गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
सम्राट नारुहितोले पोखरामा सराङ्कोट पदयात्रा गर्दा त्यहाँ महिलाहरूले खानेपानीका लागि गाग्री थापेको दृश्य देखेर पानीका विषयमा अध्ययन गर्ने प्रेरणा प्राप्त भएको सन्दर्भ उल्लेख गरे ।
उनले नेपाललाई जापानले सकेसम्म सहयोग गर्ने बताउँदै प्राकृतिक विपद्हरुमा दुवै देशले एक अर्कालाई सहयोग गर्दै आएको स्मरण गरे ।सम्राट नारुहितोले नेपाल–जापान सम्बन्ध विकासमा राष्ट्रपति पौडेलले पुर्याएको योगदानलाई सम्झेर जापानले सम्मान गरेको बताएका थिए ।
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताएका छन् । उनले यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग नेपालले मिलेर काम गर्न चाहेको स्पष्ट पारेका छन् । जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री तकाइची सनायले आज गरेको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।
“हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौँ, दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहन्छौँ”, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हामीबीच स्थापीत द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा हो भन्दै उहाँले यसप्रकारको उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याउने बताए ।
नेपालको सामाजिक र आर्थिक विकासमा जापान महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उनले द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको विकास प्राथमिकताका क्षेत्रमा अहिले जापानी लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको छ भने । “यसका लागि नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको छ”, राष्ट्रपति पौडेलले भने ।
जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिकलगायतका गर्दै आएको सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्ना गर्ने कार्यमा महत्वर्पूण योगदान पुगेको उनको भनाइ थियो ।
तपाईको बिचार