कसैसँग गठबन्धन गर्दैनौँ, पहिलो पार्टी बन्छौँ : प्रचण्ड - MirrorNepal.com

कसैसँग गठबन्धन गर्दैनौँ, पहिलो पार्टी बन्छौँ : प्रचण्ड


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरू पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले कसैसँग गठबन्धन वा तालमेल नगर्ने बताएका हुन् ।

चुनावमा तालमेल गर्न एमालेले प्रस्ताव गरेपछि दुवै पार्टी पंती तरंगित भएको छ। एमाले अध्यक्ष केपी ओली उठेको झापा ५ र महासचिव शंखर पोखरेल उठेको दाङ २ मा मात्रै भए पनि चुनावी तालमेल गर्न एमालेले प्रस्ताव गरेको छ। नेकपाका नेता तथा कार्यकर्ता र उम्मेदवार कुनै पनि दलसँग चुनावी तालमेल गर्न नहुने पक्षमा उभिएका छन्।

प्रचण्डले जनताबाट अस्वीकृत र तिरस्कृतहरुसँग गठबन्धन नहुने बताएका हुन् । अन्य पार्टीहरूबाट आफूहरूले राम्रो रेस्पोन्स पाइरहेको भन्दै प्रचण्डले प्रत्यक्षमा एमालेले भन्दा धेरै सिट जित्ने अहिले नै निश्चित भइसकेको बताएका हुन् ।

साथै उत्साहका साथ निर्वाचनको तयारीमा जुट्न र आधिकारिक उम्मेदवारलाई जिताउन उनले निर्देशन दिए । सहसंयोजक माधव कुमार नेपालले पनि बैठकलाई सम्बोधन गर्दै विभिन्न दल र नेताहरूसँग छलफल भए पनि आफूहरू एक्लै निर्वाचन लड्ने बताएका थिए ।

अघिल्ला चुनावमा कुनै न कुनै दलसँग गठबन्धन गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरु मिलेर बनेको नेकपाले यसपटक कुनै पनि दलसँग तामेल नगर्ने भएको हो। यसपटक नेकपाले बागलुङमा मात्रै राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ।

जुम बैठक आज बिहान ८ बजेदेखि करिब एक घण्टासम्म चलेको थियो । बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरू सहभागी थिए ।

तपाईको बिचार