बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु - MirrorNepal.com

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु


काठमाडौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । पुर्चौडी नगरपालिका-७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा १३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस सडकबाट करिब दुई सय मिटर तल खसेको हो । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको छ ।

बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही स्थानका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, बझाङको जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला, बैतडीको पुर्चौडी–७ निवासी ४० वर्षीया पुष्पा अवस्थीको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको सनाखत हुन बाँकी छ ।

डडेल्धुरा अस्पतालमा बझाङको बित्थडचिर पालिका –७ का १७ वर्षका विसनदत्त जोशी, सोही स्थानका २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षका किसनदत्त जोशी, केदारस्यु पालिका–७ बस्सीका २७ वर्षका केशवराज भट्ट र बैतडीको पुर्चीडी नगरपालिका ७ का १५ वर्षीय सुशील जोशीको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ । उक्त बसमा वरवधु सवार थिएनन् ।

उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने बताइएको छ ।

तपाईको बिचार