काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय अनुशासन समिति गठन गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो ।
काँग्रेसले केन्द्रीय सदस्य केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहेको केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।
त्यस्तै आजको बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका –०८२ र नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका– ०८२ लाई परिमार्जनसहित पारित गरेको छ ।
आजको बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्री फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी र प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कांग्रेसको नयाँ चुनावी अभियान : फागुन २१ का लागि मेरो २१ दिन
कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी सम्बद्ध नेता र कार्यकर्ताहरूलाई परिचालन गर्न ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने अभियान सुरु गर्ने घोषणा गरेको छ ।
आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यो कार्यक्रम अघि बढाउने निर्णय गरेको हो। यसका लागि पार्टीले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२’ को बुँदा नं २१ मा यस कार्यक्रमको उल्लेख गरेको छ ।
बैठकमा भनिएको छ, ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता सहित फागुन १ देखि २१ गतेसम्म सबै पदीय जिम्मेवारी भएका पार्टीका सदस्यहरू आफ्नो निर्धारित जिम्मेवारी अनुसार चुनावी कार्यमा खटिनेछन् ।’
यस निर्णय अनुसार, केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले जिम्मेवारी तोकेका प्रतिनिधिहरू चुनावी कार्य सकेर आफ्नै जिल्लामा फर्किनेछन्, र अन्य तहका पार्टी पदाधिकारी र सदस्यहरू आ-आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहनेछन् ।
त्यसैगरी, कांग्रेसले ‘हाम्रो वडा हामी जिताउँछौँ’ उद्घोष गर्दै प्रत्येक वडामा पार्टीका क्रियाशील सदस्यहरूलाई चुनावी काममा सक्रिय बनाउन आह्वान गरेको छ। यस अभियानमा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थासम्मलाई जिम्मेवारी निभाउन आग्रह गरिएको छ।
कांग्रेसले आगामी चुनावमा सफलताका लागि पार्टीका सबै तहका सदस्यहरूलाई एकजुट गरेर काम गर्नको लागि यो अभियान सञ्चालन गर्न लागेको हो ।
तपाईको बिचार