काठमाडौँ । इजिप्टका विदेशमन्त्री बादर अब्देलअत्तिय र इरानका विदेशमन्त्री सैयद अब्बास अरघचीबीच सोमबार टेलिफोन संवाद भएको छ। संवादका क्रममा उनीहरूबीच अमेरिकासँग चलिरहेको इरान–अमेरिका आणविक वार्ताका विषयमा विस्तृत छलफल भएको छ।
इजिप्टका विदेशमन्त्री अब्देलअत्तियले वार्ता प्रक्रिया अगाडि बढाउन तथा क्षेत्रीय तनाव कम गर्न भइरहेका कूटनीतिक प्रयासप्रति इजिप्टको पूर्ण समर्थन रहेको स्पष्ट पारे। उनले वर्तमान संवेदनशील परिस्थितिमा समस्या समाधानका लागि राजनयिक र राजनीतिक संवाद नै सबैभन्दा प्रभावकारी उपाय भएकोमा जोड दिएका छन्।
इरानी विदेशमन्त्री अरघचीले क्षेत्रीय स्थायित्व र समझदारी प्रवद्र्धन गर्न इजिप्टले खेलेको भूमिकाको प्रशंसा गर्दै आपसी संवाद र सहकार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए। समाचार अनुसार यसअघि ओमानको मस्कटमा इरान र अमेरिकाबीच पहिलो अप्रत्यक्ष वार्ता सम्पन्न भएको थियो।
उक्त वार्ताले कूटनीतिक समाधानतर्फ केही प्रगति देखाए पनि अमेरिकी पक्षले कूटनीतिक प्रयास सफल नभएमा सैन्य विकल्प खुला रहने सङ्केत दिएको उल्लेख छ। इरानी अधिकारीहरूले भने सैन्य विकल्पको कुराले क्षेत्रीय द्वन्द्व थप चर्किन सक्ने भन्दै चेतावनी दिएका छन्। एजेन्सी
तपाईको बिचार