काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिताबिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्ने नसक्ने बताउनुभएको छ । विकास र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको र त्यसले मात्रै लोकतन्त्र सवाल हुने धारणा उहाँले राख्नुभएको हो ।
अख्तियार दुरुपयोग गर्ने जोकोहीलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा पनि राष्ट्रपतिले जोड दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,‘भ्रष्टाचार केबल कानुनी उल्लंघन मात्र नभई नागरिकको आस्था र भविष्यमाथिको प्रहार हो । सार्वजनिक शक्तिको दुरुपयोगले राज्य र नागरिकबीचको भरोसालाई कमजोर बनाउँछ ।’
भ्रष्टाचारले शासन प्रणालीप्रति निराशा पैदा गराउने उल्लेख गर्दै राष्ट्रपति पौडेलले युवापुस्ताले संघर्षमार्फत प्रकट गरेको सुशासनको चाहनालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याउनुभयो । अख्तियारको भूमिकाबारे चर्चा गर्दै उहाँले कुनैपनि व्यक्ति पद र शक्तिको आडमा कानुनी जवाफदेहिताबाट मुक्त नहुने स्पष्ट पार्नुभयो ।
साथै, उहाँले कसैको दबाब वा प्रभावमा नपरी, कसुर र कसुरदारको आकार नहेरी निष्पक्ष र प्रभावकारी ढंगले काम गर्न अख्तियारलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो,‘जनताको ठूलो त्याग, बलिदान र संघर्षबाट जनता आफैंले बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौं । सहज र सरल तरिकाले जनतामा सेवा प्रवाह तथा सुशासनमार्फत देशको समृद्धि नै हाम्रो संविधान र लोकतान्त्रिक गणतन्त्रले राखेको अभिष्ट हो । यो कुरालाई नबिर्सिकन सबै दायित्व पुरा गर्नतर्फ लागौं ।’
तपाईको बिचार