सहकारी ठगीका दोषीलाई कारबाही गर्नुपर्छ: कुलमान - MirrorNepal.com

सहकारी ठगीका दोषीलाई कारबाही गर्नुपर्छ: कुलमान


काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सहकारी ठगीका दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् । आइतबार रुपन्देहीको भैरहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घिसिङले उज्यालो नेपाल पार्टी सबैभन्दा नयाँ र ऊर्जाशील राजनीतिक शक्ति भएको दाबी गरे ।

जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्न पार्टी स्थापना गरिएको उनले बताए । उनले तथाकथित ‘टेस्टेड’ दलहरू अब नयाँ नदेखिएको टिप्पणी गरे । नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेपछि देशभर लोडसेडिङ अन्त्य गरेको स्मरण गर्दै उनले अब समग्र क्षेत्रको ‘अँध्यारो’ हटाउने लक्ष्यका साथ पार्टी अघि बढेको बताए ।

सहकारी ठगीको अभियोग खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई लक्षित गरी उनले ठगमाथि कार्वाही र पीडितको बचत फिर्ता गर्नुपर्ने बताए । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.का हजारौं बचतकर्ताको ७८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिनामा रास्वपा अध्यक्ष लामिछाने मुछिएका छन् । उनकै नाममा २ करोड कर्जा देखिए पनि साँवा ब्याज तिरेका छैनन् । लामिछानेबिरुद्ध रुपन्देही जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धिकरणलगायतका मुद्धा चलिरहेको छ ।

पूर्वमन्त्री समेत रहेका घिसिङले मिटरब्याजी, लघुवित्त तथा सहकारी ठगीका घटनाले किसान र विपन्न वर्ग मर्कामा परेको उल्लेख गरे । पीडितहरूको समस्या समाधानका लागि आयोग गठन गरी दोषीमाथि कडा कारबाही गर्नु आफ्नो पार्टीको प्रमुख एजेन्डा रहेको उनले बताए ।

तपाईको बिचार