काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र साह बालेनले आफ्नो निर्वाचन क्षेत्रको लागि छुट्टै वाचापत्र सार्वजनिक गरेका छन् । वरिष्ठ नेता बालेनले वाचापत्रमा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्वासी समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
झापा ५ का भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधानका लागि आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिनमा आयोग गठन गरी १००० दिनमा समाधान गर्ने नीति अपनाउने संकल्प गरेका हुन् । हुन त घोषणा गरे जस्तो कुनै काम गर्न नसकेपछि काठमाडौंको मेयरबाट साढे तीन वर्षमै राजीनामा दिएर संघीय सांसद बन्न झापा ५ मा उम्मेदवार बनेका बालेनले सोमबार सार्वजनिक गरेको बाचापत्रमा उनले यस्ता खालका वाचा अघि सारेका छन् ।
बालेन काठमाडौंको शक्तिशाली मेयर हुँदा नदी करिडोर क्षेत्रमा बसेका सुकुम्बासीको उठिबास लगाउन खोजेका थिए । पटक-पटक उनी डोजरसहित सुकुम्बासी बस्ती पुगेका थिए । तर सुकुम्बासीले प्रतिवाद गरेपछि र संघीय सरकारले साथ नदिँदा उनी पछि हटेका थिए । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री हुँदासमेत बालेनले सुकुम्बासी लखेट्न सकेनन् ।
बालेनले गृह मन्त्रालयमै गएर साथ र सहयोग मागेका थिए । तर रविले दिन सकेनन् । त्यसपछि रिसाएर बाहिरिएका बालेन धेरै समय रविसँग बोलेनन् । तर अहिले त्यही पार्टीको वरिष्ठ नेता बनेका छन् । झापा ५ मा नेपालकै सबैभन्दा धेरै ३६ हजार सुकुम्बासीको बसोबास छ । उनीहरूले अहिलेसम्म धनी लालपुर्जा पाएका छैनन् । संघीय सरकारले पटक-पटक प्रयास गर्दा पनि विभिन्न कारणले सकेको छैन । अहिले बालेनले रास्वपा सरकार बनेको १०० दिनमा आयोग गठन र हजार दिनमा सुकुम्बासी समस्या समाधानको नारा देखाएर भोट मागिरहेका छन् ।
चुनावी प्रचार अभियानका क्रममा पश्चिम नेपाल पुगेका बेला बालेनले सडक समयमै नबनाउनेलाई रुखमा झुन्ड्याउने, भाटा हान्ने, सडकमा सुताउने भनेर चेतावनी दिएका थिए । तर अहिले बुटवलको साढे दुई किलोमिटर सडक निर्माणको जिम्मा लिएर अलपत्र पारेका निर्माण व्यवसायी रास्वपाबाट रुपन्देही- ५ मा उम्मेदवार बनेका छन्।
रास्वपाले रुपन्देही- ५ मा निर्माण व्यवसायी तौफिक खानलाई उम्मेदवार बनाएको छ। खानले पहिलो ठेक्का तोडेर खोलिएको दोस्रोपटकको ठेक्कामा बुटवलको सडक निर्माणको जिम्मा लिएका थिए। अहिले धेरैले बालेनलाई प्रश्न सोधिरहेका छन्, अब तौफिक खानलाई भाटा हान्ने कि रुखमा झुन्ड्याउने ?
यसैगरी रास्वपाबाट धनुषा- १ मा उम्मेदवार बनेका किशोरी साह कालोसूचीमा परेका निर्माण ठेकेदार हुन् । उनले धेरै निर्माणका काम अधुरो गरेर अलपत्र पारेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले उनलाई कालोसूचीमा राखेको हो । निर्वाचन आयोगले चाहेमा साहको उम्मेदवारी दर्ता खारेज हुने सम्भावना अधिक छ । तर अहिले बालेनले यो घटनालाई नजरअन्दाज गरेका छन् ।
तपाईको बिचार