काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गलत व्यक्तिलाई भोट नदिन मतदातालाई आग्रह गरेका छन् । बुधबार सिरहाको मिर्चैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावका बेला पैसाको प्रभावमा नपर्न चेतावनी दिएका हुन् ।
उनले आज मधेश प्रदेशमा आयोजित चुनावी कार्यक्रममा यस्तो बताएका हुन् । ‘पैसा खर्च गरेर मधेशको भोट परिवर्तन गर्नेहरूलाई खबरदारी गर्नुहोला’, रविले भने, ‘पैसाले भविष्य बेच्ने होइन, पैसामा आफ्नो भविष्य नबेच्नुहोला ।
उनले मतदातालाई पैसामा भविष्य नबेच्न आग्रह गर्दै भने, ‘पैसामा आफ्नो भविष्य नबेच्नु होला। कसैले दिएछ भने लिए हुन्छ, किनकि हाम्रो चोरेको पैसा हो । आफ्नै पैसा चोरेर हामीलाई बाँड्छ भने लिँदा पाप लाग्दैन तर गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ ।’
लामिछानेले जात र धर्मका नाममा समाज विभाजन गर्ने प्रवृत्तिविरुद्ध पनि मत दिन आग्रह गरे। ‘वर्षौदेखि विभिन्न जातजाति, विभिन्न धर्मालम्बी मिलेर बसेका छौँ । धर्मका नाममा, जातका नाममा अलग गर्न खोज्नेलाई भोट नदिनुहोला,’ उनले भने।
आफ्नो आस्था र राजनीतिलाई फरक राख्नुपर्नेमा जोड दिँदै उनले भने, ‘जात आफ्नो छ, धर्म आफ्नो छ, सभ्यता, संस्कृति सबै आफ्नो छ। राजनीति अब्बल मान्छेले चलाउने कुरा हो,’ उनले भने,’अब धेरै दिन बाँकी छैन, अब थोरै दिन बाँकी छ, इतिहासल बदल्न। देश र मधेसले नयाँ इतिहास लेख्दै छ ।’
उनले आउँदो फागुन २१ को निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा प्रस्तुत गरे। लामिछाने यतिबेला चुनावी कार्यक्रमका सिलसिलामा मधेसका विभिन्न स्थानमा छन् ।
तपाईको बिचार