धादिङमा उम्मेदवारी फिर्ता गरि नेकपाका पाण्डेलाई समर्थन - MirrorNepal.com

धादिङमा उम्मेदवारी फिर्ता गरि नेकपाका पाण्डेलाई समर्थन


काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि धादिङ क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन सन्जेलले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेलाई समर्थन गरेका छन् ।

आज धुनीबेशी नगरपालिका – १, भन्ज्याङ पोखरीमा आयोजित नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै सन्जेलले औपचारिक रूपमा आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । साथै उम्मेदवार पाण्डे र सन्जेलबीच आपसी सहमति पत्रमा हस्ताक्षरसमेत भएको छ ।

कार्यक्रममा बोल्दै सन्जेलले भने -‘राजेन्द्रप्रसाद पाण्डे धादिङको विकासप्रेमी नेता मात्र नभई सिंगो देशकै एक अभिभावक हुनुहुन्छ । धादिङको सर्वाङ्गिण विकासका लागि उहाँको विजय अपरिहार्य रहेकाले मैले उम्मेदवारी निष्क्रिय पारी उहाँलाई समर्थन गर्ने निर्णय गरेको हुँ।’

यसअघि हिजै साँझ सामाजिक सञ्जालमार्फत पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका सन्जेलले आजको हस्ताक्षरसँगै चुनावी मैदानमा पाण्डेलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्घता जनाएका छन् ।

सन्जेलको यो समर्थनले धादिङ क्षेत्र नं.१ मा पाण्डे थप बलियो बनेको बताइन्छ ।

तपाईको बिचार