कांग्रेस महाधिवेशन भाद्र २४-२६ मा गर्ने प्रस्ताव पेस - MirrorNepal.com

कांग्रेस महाधिवेशन भाद्र २४-२६ मा गर्ने प्रस्ताव पेस


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी भाद्र २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव पेस भएको छ । मंगलबार बसेकाे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टी सभापति गगन थापाले १५ औं महाधिवेशन कार्यतालिका प्रस्ताव गरेका हुन् ।

सभापति थापाले चैत २१ गतेबाट महाधिवेशन प्रक्रिया सुरू गरी भदौ मसान्तमा सक्ने प्रस्ताव गरेका छन् ।थापाले गरेकाे प्रस्तावअनुसार चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने, वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट याशील सदस्यता वितरण र अद्यावधिक गर्ने उल्लेख छ ।

जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असार १५ गतेसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने कुरा उनकाे प्रस्तावमा छ । विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीको नियमित महाधिवेशन गर्न लागेको हो।

यसअघि कांग्रेसकाे १४ औं महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको थियो। नियमित महाधिवेशन मंसिरमा नभएपछि थापाकाे नेतृत्वमा पुस अन्तिम साता विशेष महाधिवेशन भएकाे थियाे । यद्दपि, विशेष महाधिवेशन विवादित छ ।

उनले कार्य तालिकासहित महाधिवेशनको मिति प्रस्ताव गरेका हुन्। बैठकले छलफलपछि निर्णय लिने बताए।

१५औँ महाधिवेशनकाे प्रस्तावित कार्यतालिका :

१. वैशाख १ देखि मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने।

२. असार १५ गते केन्द्रले क्रियाशील सदस्यता छानबिन सक्ने।

३. असार मसान्तमा क्रियाशील सदस्यता वितरण निर्वाचन समितिलाई बुझाउने।

४. गाउँ, नगर वडा अधिवेशन- साउन ६ गते।

५. गाउँ/नगरपालिका अधिवेशन- साउन १२ गते।

६. प्रदेश सभा क्षेत्र अधिवेशन- साउन २३ गते।

७. प्रतिनिधि सभा क्षेत्र अधिवेशन- साउन ३० गते।

८. जिल्ला अधिवेशन- भदौ ६ र ७ गते।

९. प्रदेश अधिवेशन- भदौ १५ र १६ गते।

१०. केन्द्रीय महाधिवेशन- भाद्र २४ देखि २६ गतेसम्म।

तपाईको बिचार