काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले उक्त प्रतिवेदन सार्वजनिक गरी त्यसको पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले गत भदौ २३ र २४ गते भएको नवयुवा विद्रोहका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनामा संलग्नमाथि कारबाही हुनुपर्ने बताए ।
थापाले घटनाको निष्पक्ष छानबिन, सत्य अन्वेषण र न्याय निरुपण आवश्यक रहेको उल्लेख गर्दै अब बन्ने सरकारले यस विषयमा पहल गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । “भाद्र २३ गते राज्यशक्तिको चरम दुरुपयोग र भाद्र २४ गते भएको हिंसा तथा निजी र सार्वजनिक सम्पत्तिमा क्षतिसहित मानवीय क्षति भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनाको निष्पक्ष छानबिन हुनुपर्छ,” उनले भने।
उनले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगको प्रतिवेदन निर्वाचनअघि नै सार्वजनिक हुनुपर्ने भए पनि हालसम्म सार्वजनिक नभएको भन्दै आपत्ति जनाए । साथै, प्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
सभापति थापाले दोषीलाई कानुनी कठघरामा उभ्याई न्याय सुनिश्चित नगरे मुलुकले फेरि उस्तै अवस्था भोग्नुपर्ने चेतावनी पनि दिए।
कांग्रेसले सरकारसँग यस विषयमा स्पष्ट धारणा माग गर्दै मानव अधिकारको संरक्षण र विधिको शासन कायम गर्न आवश्यक कदम चाल्न आग्रह गरेको छ।
तपाईको बिचार