काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता तथा नवनियुक्त्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । ३६ वर्षीय बालेनले शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदको शपथ लिएका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा आजै उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । शपथग्रहणका लागि ज्योतिषीलाई साइत हेराएर १२:३४ को समय तय गरिएको थियो । ठ्याक्कै त्यही समयमा प्रधानमन्त्रीको शपथ ग्रहण सुरू गरियो ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् । झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
तपाईको बिचार