सुकुम्बासी वस्ती खाली गर्न प्रधानमन्त्रीको निर्देशन - MirrorNepal.com

सुकुम्बासी वस्ती खाली गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित जग्गा कब्जा गरि बसेका सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले अतिक्रमिक जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाको मेयर भएको बेला पनि काठमाडौंका खोला किनारमा अतिक्रमण गरेर बसाइएका बस्ती खाली गराउने प्रयास गरेका थिए । कतिपय स्थानमा सफल भए पनि बागमती नदी किनारको सुकुमबासी वस्ती लगायतका संरचना भने हटाउन सकेको छैन ।

आजबाट गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीले साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाईसँग शनिबार र आइतबार अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिएको एक उच्च अधिकारी बताए ।

प्रधानमन्त्री शाहको निर्देशनपछि काठमाडौँ महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न माइकिङ गरेको छ। बिहीबार साँझ महानगरको टोलीले थापाथली, सिनामंगल लगायतका क्षेत्रमा शुक्रबार बस्ती खाली गर्न अल्टिमेटमसहितको माइकिङ गरेको हो।

अन्यथा शनिबार बस्ती खाली गरिने र अटेर गर्नेले भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैं हुनुपर्ने चेतावनी दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले सुकुम्बासीहरूलाई सुरक्षित स्थानमा आफ्ना सरसामान र बालबच्चा सार्न सूचित गरिएको जानकारी दिए। शनिबार बस्ती खाली गरिने उनको भनाई छ।

बिहीबार गरिएको माइकिङमा अवैध रूपमा बनाइएका घर–टहराहरू वैशाख ११ गते साँझ ७ बजेभित्र खाली गर्न, घर–टहरामा भएका आफ्ना सरसामान, लत्ता कपडा, घरपालुवा, पशुपन्क्षी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्न भनिएको छ।

यस्तै, ‘घर–टहराहरूमा बसोबास गर्ने अपांगता भएका, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामीहरूलाई प्राथमिकता दिई अन्यत्र सार्नू। यसका लागि काठमाडौं महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिनू’ माइकिङ गर्दै भनिएको छ।

यसैगरी वैशाख १२ गते बिहान ६ बजेदेखि घर–टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खली गरिने, यो काममा बाधा पुर्‍याएमा कानुन बमोजिम कारबाही गरिने उल्लेख छ।

चौथो, सम्बन्धित मन्त्रालय तथा अन्य अधिकार प्राप्त निकायबाट वास्तविक भूमिहीन सुकुम्बासीहरूको लगत लिने र स्क्रिनिङको काम तत्कालै सुरू गरिने, १० देखि १५ दिनभित्रै यकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने तथा कसैले सूचना अटेर गरेमा संयुक्त कारबाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैं हुनुपर्ने’ सूचनामा भनिएको छ।

यसअघि बुधबार गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।

प्रशासनले पहिलोचरणमा काठमाडौं उपत्यकाका ४ वटा सुकुमवासी बस्तीमा डोजर चल्ने जनाएको छ।

यसैगरी अन्य राजनीतिक दलहरु ; नेपाली कांग्रेस, नेकपा -एमाले र नेकपा लगायतले भने सरकारको यो कदमको विरोध गरेका छन्।

तपाईको बिचार