पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ - MirrorNepal.com

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ


  • MNN १० बैशाख २०८३, शुक्रवार १९:३८:३७

काठमाडौँ । प्रहरीले पूर्वमन्त्री एवम निर्माण व्यावसायी विक्रम पाण्डेलाई पक्राउ गरेको छ । सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

उनले सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत सञ्चालनमा रहेको ई–गभर्नमेन्ट प्रोस्युरमेन्ट (ई–जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको तथ्य देखिएको प्रहरीले जनाएको छ ।

यसअघि ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा पाख्रिवास–५ धनकुटाका ३३ वर्षीय दिवाकर देउजा, बझाङ दुर्गाथली–३ का २५ वर्षीय भरत धामी, तनहुँ बन्दीपुर–१ का ३९ वर्षीय संजय भट्ट, काठमाडौं–३३ का ३५ वर्षीय भाष्कर राज अर्याल, मकवानपुर हेटौंडा–१७ का ४० वर्षीय सागर कटुवाल र सुनसरी दुहवी–५ का ६२ वर्षीय जीवन कुमार दास पक्राउ परेका हुन् ।

उनीहरूलाई काठमाडौं, भक्तपुर, गुल्मीलगायत विभिन्न स्थानबाट फरक–फरक मितिमा पक्राउ गरिएको थियो। प्रहरीका अनुसार उनीहरूको बयानको आधारमा उनलाई पक्राउ गरिएको हो ।

तपाईको बिचार