गोठाटार र मनोहराका सुकुम्बासी बस्तीमा चलाइयो डोजर - MirrorNepal.com

गोठाटार र मनोहराका सुकुम्बासी बस्तीमा चलाइयो डोजर


काठमाडौं । सरकारले आज पनि काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

हिजो बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको छ।

बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका मानिसहरूका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका थिए। यस क्षेत्रका संरचनाहरू भत्काइसकेपछि हिजो बाँकी रहेका काठमाडौं वडा नं. ९ स्थित गैरीगाउँ र वडा नं. ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गरिनेछ।

हिजो काठमाडौं वडा नं. ११ स्थित थापाथलीमा रहेको जग्गा खाली गरिएको थियो। उक्त स्थानको जग्गा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गरिएको थियो। बस्तीहरू खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ।

भक्तपुरको मनोहरा किरानका सुकुमबासी बस्ती भत्काउन सुरू गरिएको छ । हिजो साँझ ढुंगामुढापछि भत्काउन रोकिएको टहरा अहिले भत्काउन थालिएको हो । हिजो २२ सुरक्षाकर्मी घाइतेसमेत भएका थिए ।

सम्भावित प्रतिवाद रोक्न उपत्यकाका ३ वटै जिल्लाका प्रहरीलाई यस क्षेत्रमा परिचालन गरिएको छ । १३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरू गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीको साथै ब्याक फोर्सको लागि सेना पनि खटिएको जानकारी प्राप्त भएको छ।

यहाँका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने भत्काउन थालिएको उनले बताए । खड्काले भने, ‘यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको छ । ’यस बस्तीमा बस्तीमा ७७७ घरटहरा छन् ।

हिजो सुरु गरिएको कार्यमा झडप भएपछि आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काइएका हुन्।

तपाईको बिचार