कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्वाचित - MirrorNepal.com

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्वाचित


काठमाडाैं । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको विषयमा अन्ततः सहमति जुटेको छ। उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले संसदीय दल नेता आकांक्षीहरू र सांसदहरूसँग चरणबद्ध रूपमा गरेको छलफलपछि भीष्मराज आङ्दम्बेकाे नाममा सहमति जुटाएकाे हाे ।

यसअघि नेता अर्जुननरसिंह केसी सहित अन्य केही सांसदहरूले दाबी गरे पनि केसीले आफ्नो दाबी फिर्ता लिएपछि सहमति सहज बनेको हो। दलको नेतामा मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिर्दोष आलम र चन्द्रमोहन यादवले समेत आकांक्षा देखाएका थिए।

आङदेम्बे पार्टीका पूर्व सहमहामन्त्री तथा हाल समानुपातिक सांसद हुन्। आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापाले उनको नाम औपचारिक रूपमा प्रस्ताव गर्ने तयारी गरेका छन्।

समितिबाट अनुमोदन भएपछि संसदीय दलको बैठकले औपचारिक रूपमा नेता चयन गरेको हाे। गत फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा शीर्ष नेताहरू पराजित भएपछि दलभित्र नयाँ नेतृत्वको आवश्यकता महसुस गरिएको थियो। यही परिस्थितिले आङदेम्बेलाई अगाडि आउने अवसर दिएको हो।

शेरबहादुर देउवा निकट मानिने आङदेम्बे १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा निर्वाचित भएका थिए। तर पछिल्ला घटनाक्रममा उनी कुनै एक गुटमा स्पष्ट रूपमा नखुलेर मध्यमार्गी भूमिकामा देखिँदै आएका थिए।

देउवा र शेखर कोइराला पक्षबीच दूरी कायम राख्दै आएका आङदेम्बेले पछिल्लो समय भने सभापति थापाको लाइनमा आफूलाई उभ्याएको संकेत दिएका छन्।

समानुपातिक सांसदका रूपमा रहेका आङ्देम्बे पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्रीमा निर्वाचित भएका थिए। उनले लामो समयदेखि पार्टीभित्रको राजनीतिक सन्तुलन मिलाउन र मझधारको भूमिका निर्वाह गर्दै आएका थिए।

सभापति थापाको कार्यशैली र दृष्टिकोणमा स्पष्ट समर्थन जनाउँदै आएका आङ्देम्बेले अब संसद्मा कांग्रेसको संसदीय मोर्चाको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्। २०७० सालको संविधानसभा निर्वाचनमा पाँचथर-२ बाट निर्वाचित भई संसदीय अनुभव बटुलिसकेका उनी अबको बदलिँदो राजनीतिक परिस्थितिमा कस्तो भूमिका खेल्छन्, त्यो भने हेर्न बाँकी नै छ।

सहमतिमा उनको नाम टुंगो लागेकाले यसलाई कांग्रेसभित्रको गुटगत राजनीति अन्त्य गर्ने प्रयासका रूपमा पनि लिइएको छ। यस चयनले अब संसद्मा नेपाली कांग्रेसको प्रभावकारी उपस्थिति रहने र सरकारसँगका कतिपय पेचिला विषयहरूमा उनले कस्तो नेतृत्व प्रदान गर्छन् भन्ने चासो सबैतिर बढेको छ।

तपाईको बिचार