काठमाडौँमा सिक्री लुटपाट गर्ने गिरोह पक्राउ - MirrorNepal.com

काठमाडौँमा सिक्री लुटपाट गर्ने गिरोह पक्राउ


काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा महिलामाथि लक्षित गरी सिक्री लुटपाटमा संलग्न एक संगठित गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले निरन्तर निगरानी तथा अनुसन्धानपछि उक्त गिरोहलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिकाका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ र २१ वर्षीय सुजन तामाङ रहेका छन्। यस्तै, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बूका १९ वर्षीय रितिका माझी पनि सोही गिरोहमा संलग्न रहेको पुष्टि भएको छ।

प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार चैत १२, चैत १९ र वैशाख ६ गते काठमाडौँका विभिन्न स्थानमा भएका सुनका सिक्री लुटपाट घटनाको अनुसन्धानका क्रममा गिरोहको पहिचान गरिएको हो। उनीहरूले विशेषगरी एक्लै हिँडिरहेका महिलालाई लक्षित गर्दै मोटरसाइकल प्रयोग गरी अचानक आक्रमण गर्ने शैली अपनाउने गरेको खुलेको छ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले १२.९० ग्राम सुन, पेचकस, ठूलो तथा साना रेन्चीहरू, एक थान मोबाइल फोन, खुकुरी तथा लुटपाटमा प्रयोग हुने लुगा (हुडी, ट्राउजर, ज्याकेट) बरामद गरेको जनाएको छ।

उक्त गिरोहलाई काठमाडौँ महानगरपालिकाको तारकेश्वर नगरपालिका–४ पैँयुटार क्षेत्रबाट पक्राउ गरिएको हो। हाल उनीहरूमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ।

प्रहरीले यस्ता घटनामा सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्दै शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन अपिल गरेको छ।

तपाईको बिचार