नेपालमै पहिलो पटक गाईकाे दूध बीमा योजना सुरु - MirrorNepal.com

नेपालमै पहिलो पटक गाईकाे दूध बीमा योजना सुरु


काठमाडौँ । नेपालको बीमा क्षेत्रमा प्रविधि र जलवायु जोखिमलाई जोड्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले एक ऐतिहासिक योजना सुरुवात गरेको छ । कम्पनीले प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा नेपालमै पहिलोपटक ‘तापक्रम सूचकांकमा आधारित दूध उत्पादन बीमालेख’ कार्यान्वयनमा ल्याएको हो।

बढ्दो विश्वव्यापी उष्णता र त्यसले नेपालको पशुपालन क्षेत्रमा पारेको गम्भीर असरलाई सम्बोधन गर्न यो बीमा योजना एउटा कोशेढुंगा सावित हुने देखिएको छ। नेपालको बीमा क्षेत्रमा प्रविधि र जलवायु जोखिमलाई जोड्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले एक ऐतिहासिक सुरुवात गरेको छ। कम्पनीले प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा नेपालमै पहिलोपटक ‘तापक्रम सूचकांकमा आधारित दूध उत्पादन बीमालेख’ कार्यान्वयनमा ल्याएको हो।

विश्वव्यापी उष्णता र त्यसले नेपालको पशुपालन क्षेत्रमा पारेको गम्भीर असरलाई सम्बोधन गर्न यो बीमा योजना एउटा कोशेढुंगा सावित हुने देखिएको छ। विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक गर्मीका कारण गाई तथा भैँसीको दूध उत्पादनमा उल्लेखनीय गिरावट आउने गरेको छ। यही समस्यालाई मध्यनजर गर्दै कम्पनीले कृषकहरूलाई पर्न सक्ने सम्भावित आर्थिक क्षतिबाट जोगाउन यो सुरक्षा कवज तयार पारेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले यस बीमालेखको महत्वमाथि प्रकाश पार्दै यो योजना कृषकको वास्तविक समस्या समाधानमा केन्द्रित रहेको बताए। सीईओ क्षेत्रीले भने, ‘हामीले परम्परागत बीमाभन्दा माथि उठेर वास्तविक समस्याको पहिचान गरेका छौँ। तराईको प्रचण्ड गर्मीमा पशुहरूले ताप तनाव झेल्नुपर्ने र त्यसले प्रत्यक्ष रूपमा दूध उत्पादन घटाउने हुनाले कृषकको गोजीमा पर्ने असरलाई यस बीमाले सुरक्षित गर्नेछ।’

क्षेत्रीले थप स्पष्ट पार्दै भने, ‘हाललाई हामीले कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र चितवन गरी सातवटा जिल्लाका पशुपालक कृषक, समूह तथा सहकारीलाई लक्षित गरेका छौँ। यो सुरुवाती चरणमै १,६२७ वटा गाई तथा भैँसी यस योजनामा आबद्ध हुनुले कृषकहरूमा नयाँ प्रविधि र बीमाप्रति ठूलो विश्वास रहेको पुष्टि गर्छ।’ उनका अनुसार यो बीमालेख आगामी २०८३ वैशाख ७ देखि भदौ ३१ गतेसम्मको कुल १५० दिनको अवधिलाई आधार मानेर सञ्चालन हुनेछ।

यो बीमालेखको सबैभन्दा विशिष्ट पक्ष यसको दाबी भुक्तानी प्रक्रिया हो। यसमा क्षतिको मुचुल्का उठाउन वा कर्मचारी गोठमै पुग्नुपर्ने झन्झट छैन। प्लान्ट स्याटका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत सुमन घिमिरेका अनुसार यो प्रणाली पूर्णतः तथ्यांक र प्रविधिमा आधारित छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने आधिकारिक दैनिक अधिकतम तापक्रमको रेकर्डलाई मुख्य आधार बनाइनेछ। यदि तापक्रम बीमालेखमा तोकिएको निश्चित सीमाभन्दा माथि पुगेमा क्षतिपूर्ति स्वतः सक्रिय हुनेछ।

दाबी भुक्तानीको सुनिश्चितताबारे जानकारी दिँदै कृषि विभाग प्रमुख उमेश ढकालले भने, ‘सूचकांकमा आधारित ट्रिगर प्रणालीले कृषक दाबी योग्य भए–नभएको तत्काल निर्धारण गर्छ। यसले गर्दा दाबी प्रक्रियामा मानवीय हस्तक्षेप कम हुन्छ र पूर्ण पारदर्शिता कायम हुन्छ।’ यस्तै, दाबी विभाग प्रमुख शुभाष दीक्षितले भुक्तानीको रफ्तारबारे स्पष्ट पारे—‘सम्बन्धित निकायबाट तापक्रमको आधिकारिक सूचकांक प्राप्त भएको ७ दिनभित्रै हामीले विद्युतीय माध्यमबाट सिधै कृषकको बैंक खातामा रकम पठाउने व्यवस्था गरेका छौँ।’

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त यस बीमालेखको पुनर्बीमा नेपाल रि–इन्स्योरेन्सले गरेको छ, जसले यसको वित्तीय सुरक्षालाई थप बलियो बनाएको छ। जलवायु परिवर्तनका कारण पशुपालन व्यवसाय जोखिमपूर्ण बन्दै गइरहेको अवस्थामा, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको यो कदमले कृषकहरूलाई व्यवसायमा टिकिरहन र लगानी सुरक्षित गर्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी व्यावसायिक रूपमा गाईभैँसी पाल्ने कृषकहरूका लागि यो योजना ‘वरदान’ सावित हुन सक्छ।

तपाईको बिचार