चितवनमा हात्तिको आक्रमणबाट आमा-छोराको मृत्यु - MirrorNepal.com

चितवनमा हात्तिको आक्रमणबाट आमा-छोराको मृत्यु


काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा आतंकको पर्याय मानिने हिंस्रक भाले जंगली हात्ती ‘ध्रुवे’ले करिब नौ वर्षपछि फेरि मानवीय क्षति निम्त्याएको छ। शनिबार राति भरतपुर महानगरपालिका–२३ मा घरमै रहेका आमा–छोरामाथि आक्रमण गर्दा दुवैको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटे रहेका छन्। घटनापछि ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा फर्किएको जनाइएको छ।

स्थानीयका अनुसार रातिको समयमा जंगलबाट बस्तीमा पसेको ध्रुवेले घरमै आक्रमण गरेको थियो। हात्तीलाई धपाउने प्रयासमा आशिकाका श्रीमानले आगो बाल्न खोज्दा घरसमेत जलेर पूर्ण रूपमा नष्ट भएको बताइएको छ।

भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दीपक दवाडीले जंगली हात्तीको आक्रमणबाट आमा–छोराको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन्।

यस घटनासँगै ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। यसअघि २०७४ सालमा नेपाली सेनाका एक मेजरको ज्यान लिएपछि ध्रुवेबाट यति ठूलो मानवीय क्षति भएको थिएन।

ध्रुवे प्रायः चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा बसोबास गर्ने भए पनि बेला–बेलामा मेघौलीलगायत आसपासका बस्तीमा प्रवेश गर्ने गरेको स्थानीयवासी बताउँछन्।

पछिल्लो घटनापछि निकुञ्ज आसपासका बासिन्दामा त्रास फैलिएको छ भने जंगली जनावरको जोखिम नियन्त्रण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी उपाय अपनाउन माग बढेको छ।

तपाईको बिचार