काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई पक्षबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु भएपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकमा सुनसरी घटनाको विस्तृत समीक्षा गर्दै त्यसपछि उत्पन्न सुरक्षा अवस्था, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतामाथि पर्न सक्ने प्रभावबारे छलफल गरिएको हो।
बैठकमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागलगायत सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच थप प्रभावकारी समन्वय गर्ने विषयमा जोड दिइएको छ। साथै, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको भावलाई कायम राख्न आवश्यक कदम प्रभावकारी रूपमा कार्यान्वयन गर्नेबारे पनि छलफल भएको जनाइएको छ।
परिषद्ले घटनाको निष्पक्ष अनुसन्धान, कानुनको प्रभावकारी कार्यान्वयन तथा शान्ति–सुरक्षा कायम गर्न स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिने विषयमा समेत समीक्षा गरेको छ।
बैठकमा मनसुनजन्य विपद्का कारण देशका विभिन्न स्थानमा देखिएका जोखिमबारे पनि छलफल भएको बताइएको छ। बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रभावकारी प्रतिकार्य, उद्धार तथा राहत व्यवस्थापनमा सुरक्षा निकायबीचको समन्वयलाई थप मजबुत बनाउने विषयमा समेत परिषद्ले छलफल गरेको जनाएको छ।
देवानगञ्ज घटनापछि उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका हुन्। सरकारले शान्ति, सुरक्षा, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता जनाएको छ।
सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो । राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषद्मा रक्षा सचिवले सदस्य सचिवको रूपमा काम गर्छन् ।
तपाईको बिचार