काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा हिन्दू सम्राट सेनाको आह्वानमा बिहीबार जनकपुरधाममा भएको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
हिन्दू सम्राट सेनाको नेतृत्वमा जनकपुरधामका हिन्दू युवाहरूले बजार बन्द गराउँदै विभिन्न मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले ‘हिन्दु राष्ट्र कायम गर’ , ‘हिन्दु मार्न पाइँदैन’, ‘मुस्लिम आयोग खारेज गर’ लगायतका नाराबाजी गर्दै सुनसरी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा गृहमन्त्रीको राजीनामाको माग गरेका थिए।
प्रदर्शन चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३स्३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिकाका केही भाग तथा नगराइन नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू लागू गरिएको छ।
प्रदर्शनका कारण जनकपुरधामको सम्पूर्ण बजार ठप्प भएको छ भने सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको छ। सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनालाई संवेदनशील स्थानहरूमा व्यापक रूपमा परिचालन गरिएको छ।
प्रशासनले कर्फ्यू अवधिमा अत्यावश्यक सेवाबाहेक कसैलाई पनि घरबाहिर ननिस्कन आग्रह गरेको छ। साथै अफवाहमा नलाग्न, शान्ति–सुरक्षा कायम राख्न तथा सुरक्षा निकायलाई सहयोग गर्न सर्वसाधारणसँग अपिल गरेको छ।
सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेका छन्। जनकपुरधाममा भएको प्रदर्शन पनि सोही घटनाको विरोधस्वरूप आयोजना गरिएको हो।
यसै गरि सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । कर्फ्यू आदेशबीच दुई पक्षबीच झडप बढ्दै जाँदा यहाँको अवस्था तनावग्रस्त बनेको छ ।
सिरहाका सहायक सीडीओ चेतराज बरालका अनुसार मृत्यु हुने व्यक्ति गणेश यादव रहेको खुलेको छ । अहिले यस क्षेत्रमा सेना परिचालन गरिएको छ ।
लहान नगरपालिकाको पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम)सम्म, दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको पाँच सय मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कर्फ्यु लगाइएको थियो।
कर्फ्युको समयमा आवतजावत, भेला, प्रदर्शन, सभा, बैठक, घेराउ, नाराबाजी गर्न रोक लगाइएको छ।
सिरहामा तनाव बढेपछि नेपाली सेना परिचालन गरिएको छ । कर्फ्यूका बाबजुद प्रदर्शन जारी रहँदा र सुरक्षा निकायसँग झडप हुन थालेपछि सेना ब्यारेकबाट निस्किएको हो । लहान र गोलबजार क्षेत्रमा नेपाली सेना परिचालित छन् ।
प्रदर्शनकारी र सुरक्षा निकायबीच दिनभर झडप भइरहँदा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै स्थिति नियन्त्रणमा लिन चेतावनीस्वरूप हवाईँ फायरसमेत गरेको छ ।
सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर मधेशका जिल्लामा पनि सुरक्षा चुनौती थपिएको हो । धार्मिक तथा साम्प्रदायिक तनाव बढ्ने संकेत देखिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
लहान नगरपालिकाको पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम)सम्म, दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको पाँच सय मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कर्फ्यु लगाइएको थियो।
कर्फ्युको समयमा आवतजावत, भेला, प्रदर्शन, सभा, बैठक, घेराउ, नाराबाजी गर्न रोक लगाइएको छ।
तपाईको बिचार