वन कर्मचारीमाथि भएको आक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन - MirrorNepal.com

वन कर्मचारीमाथि भएको आक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन


काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–स्थित कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमनको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ।

वातावरण संरक्षण अभियानकर्मीहरूले बिहीबार वन कर्मचारीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। माइतीघर मण्डलामा धर्ना दिँदै वातावरण संरक्षण अभियन्ता सुनिल यादवले दुई महिना बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ नपरेको बताए।

यादवका अनुसार दुई महिना अगाडी महोत्तरीको कालापानी क्षेत्रमा वन अतिक्रमण हटाउने सम्बन्धमा सूचना टाँस गर्न पुगेका डिभिजन वन कार्यालयका अधिकृत श्वेता झा, सुमन श्रेष्ठसहित सात जना वन कर्मचारीलाई स्थानीय समूहले नियन्त्रणमा लिएर करिव ६–७ घण्टा बन्धक बनाएको थियो।

उनीहरूलाई मानसिक यातना दिएको र वन कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको जानकारी दिए। घटनामा संलग्न व्यक्तिहरूलाई राजनीतिक संरक्षण प्राप्त भएको आरोप लगाउँदै उनले मधेस प्रदेश सरकारले घटनाप्रति बेवास्ता गरेको दाबी गरे।

यादवले कालापानी क्षेत्रमा वास्तविक भूमिहीन सुकुम्बासी भएमा उनीहरूको राज्यले उचित व्यवस्थापन गर्नुपर्ने तर सुकुम्बासीको नाममा वन अतिक्रमण गर्ने भू–माफिया र हुकुम्बासीलाई कानुनी कारबाही गरी हटाउनुपर्ने माग गरे।

उनले कैलालीको अत्तरियामा भएको एक घटनामा वन कार्यालयका कर्मचारीको त्रुटीपछि २४ घण्टाभित्रै डिभिजन वन अधिकृत (डीएफओ) सम्मलाई पक्राउ गरिएको उदाहरण दिँदै महोत्तरी घटनामा भने सात जना सरकारी कर्मचारी बन्धक बनाइँदा र सरकारी गाडी जलाइँदा पनि दोषी पक्राउ नपर्नु दोहोरो मापदण्ड भएको आरोप लगाए।

दोषीलाई कारबाहीको माग राखेर यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाइसकेको उनले जानकारी दिए। उनले दोषी पक्राउ गरि कारबाही नगरेमा अनिश्चितकालीन धर्ना र आन्दोलन घोषणा गर्ने चेतावनी दिए।

प्रदर्शनमा सहभागीहरूले ‘कालापानी घटनाका पीडित कर्मचारीलाई न्याय देऊ’, ‘महोत्तरी डिभिजन वनका सात कर्मचारीमाथि जिउँदै आगो लगाउने प्रयास गर्ने समूहलाई तत्काल पक्राउ गर’, ‘कालापानी घटनाका पीडित वन कर्मचारीहरूको न्यायका निम्ति हल्लाबोल’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

तपाईको बिचार