सर्लाही, सिरहा र जनकपुरमा तनावपछि कर्फ्यू आदेश जारी - MirrorNepal.com

सर्लाही, सिरहा र जनकपुरमा तनावपछि कर्फ्यू आदेश जारी


काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको घटनाको प्रभाव सर्लाही र सिरहामा समेत परेको छ । सर्लाहीमा दुई समूहबीच झडप हुँदा ११ वटाभन्दा बढी मोटरसाइकलमा आगजनी भएको छ ।

आगलागीबाट ती सबै मोटरसाइकल पूर्ण रूपमा नष्ट भएका छन् । गोलबजार नगरपालिकाको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको जनाइएको छ । घटनापछि स्थानीय प्रशासनले सम्बन्धित क्षेत्रमा कर्फ्यू आदेश जारी गरे पनि सडकमा प्रदर्शन रोकिएको छैन । सुरक्षाकर्मी परिचालन गरेर अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

यसैबीच, सुनसरीको कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन हुन थालेपछि सिरहामा पनि कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गरेको जनाएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रका विभिन्न स्थानमा कर्फ्यू आदेश लागू गरिएको हो ।

कर्फ्यू क्षेत्रअन्तर्गत पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोकसम्म, उत्तरतर्फ गोलबजार–६ को सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ स्थित राप्र बहुमुखी क्याम्पस आसपासको क्षेत्र समेटिएको छ ।

सुनसरीको घटनापछि विभिन्न जिल्लामा प्रदर्शन फैलिन थालेपछि स्थानीय प्रशासनहरूले शान्ति–सुरक्षा कायम गर्न कर्फ्यू आदेश जारी गर्दै आएका छन् ।

प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिका क्षेत्रका विभिन्न स्थानमा कर्फ्यू आदेश लागू गरिएको छ । प्रशासनले शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न कर्फ्यू आदेश जारी गरिएको जनाएको छ । पछिल्लो समय जनकपुरधाम क्षेत्रमा भएको प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले सुरक्षा सतर्कता बढाएको हो ।

कर्फ्यू अवधिमा अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई आवतजावत नगर्न प्रशासनले आग्रह गरेको छ । थप अवस्थाको मूल्यांकन गर्दै आवश्यक निर्णय लिइने जनाइएको छ । उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चौकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म, पूर्वमा बेलौनी रोड– एम.क्यु.स्टिलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रि प्राविसम्म, दक्षिणमा नगराइन नगरपालिका देखि नगराइन चोकसम्म र पश्चिममा सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–स्कोन जनकपुर–दुतमती पुल, बेला, कादरी मस्जिदमा कर्फ्यु लागू हुनेछ।

अर्को आदेश जारी नभएसम्मका लागि कफ्यू आदेश जारी गरिएको छ। यसका क्रममा कसैले पनि आवजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, घेराउ गर्न पाइने छैन।

तपाईको बिचार