सरकारी पहलमा कोरिया, जापान र युरोपियन मुलुकमा कामदार पठाउने - MirrorNepal.com

सरकारी पहलमा कोरिया, जापान र युरोपियन मुलुकमा कामदार पठाउने


  • Mirror Team ९ असार २०८२, मङ्गलबार १५:१९:४०

काठमाडौं ।सरकारले दक्ष र अर्धदक्ष श्रमिकलाई जापान, कोरिया तथा युरोपियन मुलुकहरूमा संस्थागत तवरबाट पठाउने तयारी सुरु गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो जानकारी गराएका हुन् । उनले जुलाईदेखि युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने प्रक्रिया सुरु गएको जानकारी गराएका छन् ।

मन्त्री भण्डारीले भने, ‘वैदेशिक रोजगार नीतिअनुसार दक्ष र सिपयुक्त नेपालीलाई वैदेशिक रोजगारीको लागि कोरिया र जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी निर्णय भएको छ ।’ उनले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न कडा कारबाही गरिने पनि बताए । वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी मन्त्रालयको ठूलो चिन्ताको विषय बताउँदै उनले उजुरी परेको खण्डमा सरकारको अनुसन्धान संयन्त्रले कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

मन्त्री भण्डारीले विदेशमा रहेका नेपाली श्रमिकको मानवअधिकारको सुनिश्चितता गर्न नेपालको अडान रहेको बताएका छन् । प्रतिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि जवाफ दिने क्रममा मन्त्री भण्डारीले विदेशमा रहेका नेपाली श्रमिकको मानवअधिकारको सुनिश्चितता नेपालको शर्त नभई अडान भएको बताए ।

त्यस्तै वैदेशिक रोजगारीको क्षेत्रमा हुने गरेका ठगीका घटनामा सरकार एकदमै कठोर भएर अघि बढेको बताए । वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको श्रम र स्रोतलाई उच्चतम उपयोग गर्ने गरी पुनः एकीकरण कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम जस्ता कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडी बढाइएको बताए ।

सबै नेपाली काम गर्दा होस या जीवनको उत्तरार्धमा होस कुनै पनि जोखिम वहन गर्न नपरोस् भनेर प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गर्ने योजना अघि सारेको बताए। पेन्सनेवल सोसाइटीको निर्माण गर्न यो योजना महत्वपूर्ण रहेको बताए । इरान र इजरायलबीच उत्पन्न संकटमा नेपाली तथा नेपाली श्रमिकमा भएको र हुन सक्ने प्रभावका बारेमा मन्त्रालय सजग र तयारी अवस्थामा रहेको समेत बताए ।

नेपाली श्रमिक विदेशी भूमिमा सङ्कटमा नपरून् भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अत्यन्त जिम्मेवार भएर कार्य गरिरहेको बताए ।

तपाईको बिचार