काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनकाे औपचारिक भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री ओली आगामी शनिबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि जान लागेका हुन्।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनेछन्।
प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेनस्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।
त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तर्क्रिया गर्नेछन्। सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ ।
स्पेन संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक हो । करिब पाँच लाख पाँच हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्पेनको जनसङ्ख्या लगभग चार करोड ७४ लाख छ ।
सन् १९८६ मा युरोपेली सङ्घको सदस्य भएको स्पेनले सन् १९९५ मा सेन्जेनको सदस्यता लिएको थियो । स्पेनमा ८४ प्रतिशत स्पेनिस, एक दशमलव सात मोरक्कन, एक दशमलव दुई रोमानियन र अन्य जाति १२ दशमलव तीन रहेको तथ्याङ्क छ ।
स्पेनमा साना–ठूला गरी २० हजार फुटबल क्लब र १० लाख रजिष्ट्रर खेलाडी रहेको मुलुक हो । भाषाका हिसाबले स्पेनिस विश्वको चौथो धेरै बोलिने भाषा हो ।
तपाईको बिचार